नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना: ६ को मृत्यु, १८ घाइते

बिएल संवाददाता

नयाँदिल्ली

नेपाली तीर्थयात्रीहरू चढेको बस भारतमा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ।

घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरे नरीपल्लम जान लागेको बस पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको थियो।

सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन्। प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ। जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन्। टोलीमा ३४ जना थिए। फेब्रुअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए।

प्रकाशित मिति: : 2020-02-21 04:25:58

प्रतिकृया दिनुहोस्