स्कटल्याण्डका जर्ज मुनसेले पोखराबाट ईपीएल खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

स्कटल्याण्डका जर्ज मुनसेले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग ईपीएल टी २० क्रिकेट खेल्ने भएका छन्।

पोखरा राइनोजले जर्ज मुनसेलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। यसअघि राइनोजले वेष्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्स जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको छ। 

राइनोजकी मालिक दिपा अग्रवालले मुनसेको आगमनले टिम पूर्ण हुने जानकारी दिइन्। ‘गत वर्ष पोखरा राइनोजमा स्कटिस खेलाडी (कायल कोएत्जर) थिए र म अर्का खेलाडीलाई भेट्न र उनको खेलेको हेर्न उत्साहित छु।’

यस्तै मुनसेले पनि नेपाल आएर खेल्न आफू आतुर रहेको बताएका छन्। यस सिजनको ईपीएलका लागि नेपाल भ्रमण गर्त प्रतीक्षामा छु। यो साँच्चै ठूलो टुर्नामेन्ट हो भन्ने सुनेको छु। म राइनोजको प्रतिनिधित्व गर्न तयार छु र सबैलाई भेटने प्रतीक्षामा छु।’

मुनसेले २०१५ मा आयरल्याण्ड भ्रमणमा स्कटल्याण्डको प्रतिनिधित्व गरेका थिए। उनले २०१९ मा डब्लिनमा नेदरल्याण्डसविरुद्ध टी २० मा अविजित १२७ रन बनाएका थिए।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कायल कोएत्जर र इंग्ल्याण्डका पउल कघलिनले खेलेका थिए। यस्तै नेपालका भेट्रान स्पीनर शक्ति गौचनले गत सिजन पोखराबाटै इपीएल खेलेपछि सन्यास लिएका थिए।

राइनोजको उनको स्थानमा यस पटक युवा खेलाडी लोकेश बामलाई भित्र्याएको छ। यस्तै पृथु बास्कोटा, रित गौतम विपिन रावल, विवेककुमार यादवलाई पनि यस सिजनका लागि अनुबन्ध गरेको छ। गत सिजन खेलेका राजेश पुलामी मगर, सौरभ खनाल र सुबेन्द्र पाण्डेलाई भने पोखराले रिलिज गरेको छ।

पोखरा राइनोजको अन्य खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, नन्दन यादव, विक्रम सोब, विपिन खत्ती र देव शाह छन्।

प्रकाशित मिति: : 2020-02-21 05:51:30

प्रतिकृया दिनुहोस्