धर्म संस्कृतिहरुको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धर्म संस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताएका छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले समाजलाई एकताको सूत्रमा बाँध्न धर्म संस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताएका हुन्।

'देवादिदेव महादेवसमेत भनिने हिन्दूहरुका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु' उनले जारी गरेको सन्देशमा उल्लेख छ।
 
'विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराहरुको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन। भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रुपमा हामी लिन सक्छौँ। भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरुले अधिक मान्नु र तराईमा जन्मेका भगवान् वुद्धलाई हिमाली क्षेत्रका  बासिन्दाले बढी मान्नु आफैँमा  जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ' विज्ञप्तिमा भनिएको छ।

उनीद्वारा जारी सन्देशमा भनिएको छ, 'गाँजा, भाङ, धतुरो, मदिरा तथा सुर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ। यस्ता कुराहरुले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ। त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरुको सेवन नगर्ने सङ्कल्प पनि गरौँ।'

प्रकाशित मिति: : 2020-02-22 00:52:22

प्रतिकृया दिनुहोस्