पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ललिता निवास जग्गा प्रकरणपछि पतञ्जली योगपीठको जग्गा प्रकरणमा जोडिएका छन्।
पतञ्जलीको हदबन्दी छुटको जग्गा व्यक्तिको नाममा पुगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग सुटुक्क बयानसमेत लिइसकेको खुलेको छ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा विक्री भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको हो।
हदबन्दी छुटको जग्गा दुरुपयोग भए सरकारको नाममा आउनुपर्नेमा व्यक्तिको नाममा पुगेको थियो। माधव नेपालकै सरकारले हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमति दिएपछि उक्त जग्गामा ‘काष्ठमण्डप बिजनेश होम्स’ले प्लटिङ गरेको थियो।
अख्तियारले माधव नेपालसँग बयान लिएको खुलासापछि रास्वपा सांसद मनिष झाले संसदमा दिएको अभिव्यक्ति विवादित बनेको छ। उनले आफ्ना सभापतिपछि सरकारले माधव नेपालमाथि राजनितिक प्रतिशोध साँधेको आरोप लगाएका थिए।
सांसद झाले संसदमै दिएको उक्त अभिव्यक्तिलाई यसअघि ललिता निवासको जग्गा हिनामिना प्रकरण बाहिर ल्याएका पूर्वसचिव शारदाप्रसाद त्रितालले दुःखद भएको बताएका छन्।
बाहिर आएका तथ्यहरूका आधारमा विश्लेषण गर्दा काभ्रेकाे पतञ्जलीले लिएको भनिएकाे जग्गा सम्बन्धमा ठूलाे नीतिगत भ्रष्टाचार भएको देखिएको र यसमा निर्णय लिने पूर्व प्रधानमन्त्रीलाई अख्तियारले बयान लिएको विषयलाई राजनीतिक प्रतिशाेध भन्नु स्वाभाविक मान्न नसकिने उनले बताएका छन्।
उनले भने, ‘महालेखा परीक्षकबाट यस किसिमका धेरै नीतिगत भ्रष्टाचार हुने गरेकाे सुन्नमा आउने गरेकाेे सबैमा विदित नै छ। अख्तियारले अब यस्ता नीतिगत भ्रष्टाचारकाे सशक्त रुपमा अनुसन्धान गरी कारबाही अगाडि बढाउनुपर्छ।’
पूर्वसचिव त्रिताल उनै हुन् जसको संयाेजकत्वकाे छानविन समितिले भू-माफियाले बालुवाटारकाे जग्गा डिल्लीबजार मालपाेतका कर्मचारीकाे मिलेमताेमा व्यक्तिकाे नाममा गरेकाे खुलासा गर्दै सरकारलाई प्रतिवेदन दिएकाे थियाे।