सन्दीपले दिए धुर्मुस-सुन्तली फाउन्डेसनलाई ७० हजार ७ सय ८४ रुपैयाँ

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रकम हस्तान्तरण गरेका छन्। धुमुर्स–सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको रंगशालाका लागि सन्दीपले पूर्व घोषित रकम हस्तान्तरण गरेका हुन्।

सन्दीपले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)लाई बिहीबार ७० हजार ७ सय ८४ रुपैयाँ हस्तान्तरण गरेका हुन्। सन्दीप र राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का रंगशाला निर्माणका सद्भावना दुत पनि हुन्। 

सन्दीपले हस्तान्तरण गरे जति नै रकम उनको विदेशी व्यवस्थापन हेर्दै आएका साया कर्पोरेसनका तल्हा आइशामले पनि थपेका थिए। सन्दीपले दुवैको जोडेर कुल १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ फाउन्डेसनलाई प्रदान गरेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

गत महिना कीर्तिमपुरमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए। उनले लिग २ मा कुल ९ विकेट लिएका थिए। ओमानसँग दुवै खेलमा विकेटविहिन रहेका उनले अमेरिकासँग पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेट लिएका थिए। 

धुमुर्स–सुन्तली फाउन्डेसनले ३ अर्बको लगानीमा २ वर्षमा रंगशालामा निर्माण सम्पन्न हुने घोषणा गरेको छ। रामपुर कृषि क्याम्पसको २० विगाहा भन्दा बढी जमिनमा रंगशालामा निर्माण भइरहेको छ।

प्रकाशित मिति: : 2020-02-22 03:04:57

प्रतिकृया दिनुहोस्