प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न– देशको नक्साअंकित केक काट्दा हात कापेन?

प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले आफ्नो ६९औं जन्मदिन मनाएका हुन्।  

२००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका वडा नम्बर ४ मा जन्मिका ओली पहिलो पटक जन्मघरमा पुगेर जन्मोत्सव मनाए। जन्मोत्सव मनाउने क्रममा ओलीले केक काटेर श्रीमती राधिकालाई खुवाएका थिए। 

तर, केक काटेको केही मिनेटमै उक्त तस्बिर  सामाजिक सञ्जालमा भाइरल भयो। नेपालको नक्सा आकारको केक काटेपछि अहिले प्रधानमन्त्रीको ट्रोल सुरु भएको छ

एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्–‘ जन्मदिनको शुभकामना प्रधानमन्त्रीज्यू। आउनुस् तपाई हामी सबै मिलेर देश खाउँ। ओ सरी केक खाउँ।

अर्का प्रयोगकर्ताले भने सल्लाहाकार राम्रो राख्न सुझाव दिएका छन्। प्रधानमन्त्रीज्यू अलिक राम्रो सल्लाहाकार राख्नुस् नँ। नेपालको नक्सा आकारको केक काट्दा हात कापेन?

यस्तै एक प्रयोगकर्ताले लेखेका छन्– ‘देशको नक्सालाई केकमा परिणत गरेर काटिदैछ। उत्सव कि देशको अपमान हो हजुर?’

यता नायिका रेखा थापा लेख्छिन्– ‘नियतबस नहोला तर लक्षण गतिलो छैन। छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो। देशको प्रधानमन्त्रीको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक कटाइको सन्देश बुझिएन।’

प्रधानमन्त्री ओलीले आफ्नो ६८औं जन्म दिन बालुवाटार परिसरमा आँपको विरुवा रोपेर मनाएका थिए। ६७औं जन्मदिन २४ लाख खर्च गरेर बालुवाटारमा मनाएका थिए। ६६औं जन्मदिन सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दुईवटा फुटबल आकारको केक काटेर मनाएका थिए। यसबेला सरकारी कोषबाट करिब ५ लाख खर्च भएको बताइन्छ। यता ६५औं जन्मदिन उनले नयाँ दिल्लीको ताज होटलमा केक काटेर मनाएका थिए। त्यसबेला करिब ६ लाख रुपैयाँ ऋण लागेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदमा बसेका व्यक्तिले फजुल खर्च गर्न नपाउने आचारसंहिता विपरित खर्च गर्दै आएका छन्। उनको हरेक जन्मदिनको भोजमा क्याटरिङ, विदेशी ह्विस्की, वियर र वाइनको समेत व्यवस्था हुने गरेको बालुवाटार स्रोतले बताउछ। 
 
ओली प्रधानमन्त्री भएको १० दिनमा दिनदिनै जस्तो विभिन्न बहानामा साना ठूला भोज भएका थिए। अहिले पनि महिनामा ५ देखि ८ भोजभत्तेरका कार्यक्रम हुँदै आएको छ। 

सरकारी निवासमा प्रधानमन्त्रीले दिने दिवाभोज, रात्रिभोज र अन्य खाजा खर्च सरकारी कोषबाट भुक्तानी हुने गर्छ।अघिल्लो पटक सरकारको नेतृत्वमा रहँदा पनि ओलीले सरकारी कोष खर्चेर कैयन भोज दिएका थिए।

प्रकाशित मिति: : 2020-02-24 11:43:04

प्रतिकृया दिनुहोस्