घरेलु मैदानमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायाे

घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ।

पोर्ट एलिजावेथमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो। 

उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५६ बल खेल्दै ५ चौका र एक छक्का ६७ रन बनाएका हुन्। 

यस्तै स्टिभ स्मिथले २९ रन जोड्दा कप्तान आरोन फिन्च र एलेक्स केरीले समान १४/१४ रन बनाए। 

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै एक चौका र ३ छक्काका साथ ४१ रन दिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ७० रन बनाएका हुन्। यता भान डेर डुसेनले ३८ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। 

अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २ चौका र २ छक्कासहित २१ रन दिए।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ। पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो।

प्रकाशित मिति: : 2020-02-24 12:08:49

प्रतिकृया दिनुहोस्