प्रधानमन्‍त्रीज्यू, सदनमा आउनुस् र भ्रष्टाचार गर्न दिन्‍न भनेर आश्‍वस्त बनाउनुस्: सांसद रिजाल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका काण्ड लाजमर्दा भएको बताएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने र नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने काम लाजमर्दा भएको बताए।

‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ। सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का भएको खुलेको छ। अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार भएको खबर छ,’ रिजालले भने,‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला।’

निवर्तमान सञ्‍चारमन्‍त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुअघि प्रधानमन्‍त्री ओलीले एक कार्यक्रममा तुलामा जोख्दा सञ्‍चारमन्‍त्री एकातिर अरु अर्कोतिर गर्दा बराबर हुने बताएका थिए।

रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेको भन्दै अब प्रधानमन्त्री ओलीले संसद्‍‌मा जवाफ दिन माग गरे। 'सदनमा आउनुस् र आश्‍वस्त बनाउनुस् भ्रष्टाचार गर्न दिन्‍न भनेर, तपाईं संसद्‍ले छानेको प्रधानमन्त्री हो,' सांसद रिजालले भने, 'प्रधानमन्त्री सबै जिम्मेवारीबाट बाहिर जानुहुन्‍न।'

सांसद रिजालले तामझामका साथ ५ वटा हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्‍त्रीले जन्मदिन मनाएको विषयमा पनि आपत्त‍ि जनाए। 'त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो। त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नुभयो?' उनले प्रश्‍न गरे, 'तपाईंले ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आयो।'

आजको बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरू उठेका थिए।
 

प्रकाशित मिति: : 2020-02-26 02:53:34

प्रतिकृया दिनुहोस्