गर्भपतन मुद्दामा फैसला भएको २० वर्षपछि अभियुक्त पक्राउ 

कैद सजायको फैसला भएको २० वर्षपछि पक्राउ परेका मुरलीप्रसाद ठाकुर

गर्भपतन मुद्दामा फरार रहेका प्रतिवादीलाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले कैद सजायको फैसला भएको २० वर्षपछि पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले ४५ वर्षीय मुरलीप्रसाद ठाकुरलाई बिहीबार साँझ पक्राउ गरेको हो। गिरीका अनुसार मोरङको साविकको वयरवन गाविस–१ र हालको कानेपोखरी गाउँपालिका–३ घर भएका ठाकुर अदालतले दोषी ठहर गरेपछि २०५६ सालदेखि फरार थिए।

गर्भपतन मुद्दामा जिल्ला अदालत मोरङले २०५६ साल चैत २० गते ठाकुर विरुद्ध दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । त्यसपछि उनी श्रीमती र एक छोरासहित सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा गएर बस्न थालेको पाइएको छ । 

मोरङको चिमडीबाटै पक्राउ गरेर ल्याएर प्रहरीले शुक्रबार अदालतमा बुझाएको छ। अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। 

प्रहरीका अनुसार ग्रामीण स्वास्थ्य कार्यकर्ताको प्रमाणपत्र लिएका र १० कक्षा मात्रै पढेका ठाकुरले मोरङको हरकपुरमा अवैध क्लिनिक सञ्चालन गरेका थिए। उक्त क्लिनिकमा अवैध रुपमा गर्भपतन गराउने काम पनि हुने गरेको पाइएको थियो। 

औषधि खुवाएर एक विवाहित युवतीको अवैध रुपमा गर्भपतन गराएको जाहेरीका आधारमा उनी विरुद्ध मुद्दा चलाइएको थियो। भागेर सुनसरी पुगेका उनी त्यहाँ इँटाको व्यापार गरेर बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-29 00:41:20

प्रतिकृया दिनुहोस्