जब बर्सियाे बच्चा बाेकेकी महिलामाथि प्रहरीकाे लाठी.......

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठसहित अधिकारकर्मीलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले बताएको छ। निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी)दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ। 

यस्तो छ वास्तविक घटना?

यो घटना भैंसेपाटीको हो। जहाँ नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री भनिने (हेम थापा)लाई माला साहले आफ्नो श्रीमान भएको दाबी गर्दै हेम खत्रीको घर अगाडि धर्ना दिँदै आएकी थिइन्। 

साहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गरिन्। त्यसैले नाता प्रमाणित गरिदिनुपर्ने उनको माग थियो। तर, खत्रीले द्वन्द्वको समयमा साह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन्। त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ।

ललितपुर प्रहरीले दुवै पक्षलाई राखेर ६ पटकसम्म छलफल गरायो। महिलाले खत्रीलाई छोराछोरी पढाउन २० लाख रुपैयाँ पनि दिएको दाबी गरेकी छन्। त्यो पनि फिर्ता पाउनुपर्ने उनको दाबी छ।

कानूनतः नाता प्रमाणितका लागि अदालत जानुपर्छ। यद्यपि, दुई पक्षबीच छलफलबाट कुनै निकास ननिस्किएपछि प्रहरीले घटनामा चासो दिन छाडेको थियो।

अन्तिममा प्रहरीले साहलाई कुनै वकिलको सहयोग लिएर अदालत वा महिला आयोगमा जान सुझायो। यसै विषयमा मालाले महिला आयोगमा उजुरी दिएकी थिइन्। महिला आयोगले हेम खत्रीलाई उपस्थित गराइदिन भन्दै केहि दिन अगाडि महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठायो।

तर, हेम खत्रीले ई–मेल लेखेर महिला आयोगमा आफैं उपस्थित हुने बताए पनि अहिलेसम्म सम्पर्कमा नआएको महिला आयोगको भनाइ छ। यसरी महिला आयोगको पत्रको वेवास्ता गरेपछि माला साह आफै महिला अधिकारकर्मीको सहयोगमा विहीबार हेम खत्रीको घर घेराउ गर्न पुगेकी थिइन्।

सोही महिला अधिकारकर्मीको समूहमा आफ्नो बच्चासहित हेमा श्रेष्ठ पनि थिइन्। घटनास्थलमा पुगेको महानगरीय प्रहरी प्रभाग बुङमतिको टोलीले  बच्चा बोकेकी हेमालाई पछाडिबाट लाठी चार्ज गरेको हो।

यसै घटनामा प्रहरीले हेम खत्रीको श्रीमती दाबी गर्ने माला साहसहित ६ जनामहिलाहरुलाई नियन्त्रणमा लिएको थियो। 
 

प्रकाशित मिति: : 2020-02-29 05:35:05

प्रतिकृया दिनुहोस्