नेपाल काेराेना भाइरसकाे उच्च जाेखिममा

नेपाल काेभिड–१९ को उच्च जोखिममा परेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जारी गरेको सूचीमा नेपाल पनि कोरोना भाईरसको उच्च जोखिमा परेको हो। यसअघि चीनमात्र डब्लुएचओले सार्वजनिक गरेकाे सूचिमा उच्च जोखिममा थियाे। 

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ। डब्लुएचओले सार्वजनिक गरेकाे सूचिमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान पनि समावेश छन्। नेपालमा हालसम्म एक जनाबाहेक कसैमा कोरोना भाईरसकाे संक्रमण देखिएको छैन।

तर राेजगारीका लागि संक्रमण फैलिएकाे देशमा नेपालीकाे बाक्लाे उपस्थितिका कारण नेपाललाई उच्च जाेखिममा राखिएकाे छ।  काेराेना भाइरस चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा फैलिएकाे छ। हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ। विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको डब्लुएचओकाे रिपाेर्टमा बताइएकाे छ ।

चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको  उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: : 2020-02-29 10:20:02

प्रतिकृया दिनुहोस्