माथिकाे आदेश भन्दै भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा प्रवेश निषेध

लगातार सरकारका गलत क्रियाकलापको विरोधमा रहेका नेकपाका नेता भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिएको घटनाको अहिले चर्चा भइरहेको छ। कतिपयले राष्ट्रपतिको सुरक्षाका कारण जान नदिनु सामान्य भनेका छन् भने कतिपयले सरकारको निर्देशनमा उनलाई प्रवेशमा रोक लगाएको बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिएको भन्दै पत्रकार सम्मेलनमा आक्रोश पोखेपछि कैलालीको सुरक्षा निकायले त्यस घटनाको अध्ययन गरिरहेकाे दावी गरेकाे छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने, ‘केही दिनयता राष्ट्रपति सुदूरपश्चिममै रहनुभएको र शनिबार त्यसै समयमा काठमाडौँ फर्किने कार्यक्रम थियो। हामी त्यसैमा व्यस्त थियौँ। त्यसैबेला पूर्वउपप्रधानमन्त्री रावल पनि फर्किनुभएको रहेछ। कम्युनिकेशनमा केही समस्या भएको रहेछ। त्यसबारे अध्ययन गर्दैछौँ।’

पूर्व उपप्रधानमन्त्री रावल धनगढी विमानस्थल पुग्दा राष्ट्रपति विद्यादेबी भण्डारी धनगढीबाट विमानस्थलका लागि बाटोमा थिइन्। कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत राष्ट्रपतिको कारगेटमा रहेका थिए। राष्ट्रपतिको सुरक्षाका लागि शनिबार बिहान ८ बजेदेखि नै धनगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित मिति: : 2020-03-01 22:08:32

प्रतिकृया दिनुहोस्