कोरोना भाइरसका कारण चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाकै रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किएका छन्।
सरकारले सोमबार उनिहरुलाई घर फर्काएको हो। शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो।
कोरोना भाइरसको संक्रमण नदेखिएपछि उनिहरुले क्वारेन्टाइन बाहिर निस्किएर खुसीयाली मनाएका थिए। वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए।
कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा उनीहरु निकै खुशी देखिएका छन्।
चीनबाट फर्किएपछि कसैलाई सङ्क्रमण देखा पर्न सक्छ भन्ने चिन्ता भएपनि प्रयोगशाला परीक्षणमा सबै ‘नेगेटिभ’ देखिएपछि उनीहरु निकै खुशी बनेका हुन्। सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था समेत गरेको छ।
खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ
चीनको त्रास छिचोलेर सरकारले उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीको १६ दिनको क्वारेन्टाइन बसाइँ भने खेल्दै, नाच्दै, गाउँदै रमाईलोसँग बितेको छ। शुरुमा अब के होला भन्ने त्रास रहे पनि यही फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको उल्लेख गर्दै क्वारेन्टाइनका एक विद्यार्थीले यहाँ आएपछि अब दोस्रो जुनी पाएको अनुभव भएको बताए।
उनले कतै यहाँ पनि चीनमा जस्तै कोठाभित्र कोचिएर बस्नुपर्ने हो कि, क्वारेन्टाइनका दुई हप्ताको बसाइँ कति कठिन होला, परिवारसँग कहिले भेट्न पाइएला भन्ने मनमा लाग्ने गरेको चिन्ता सरकारले यहाँ गरेको व्यवस्थाले सबै दुःख र त्रास बिर्साएको जानकारी दिए। यहाँ आएपछि खाने, बस्ने राम्रो व्यवस्था गरेको, आवश्यक सबै सामान भन्नेबित्तिकै ल्याइदिने गरेको, स्वास्थ्य जाँचको राम्रो व्यवस्था गरेको, परिवारसँग फोनमै कुराकानी गर्न पाएपछि क्वारेन्टाइनमा चिन्तामुक्त भएर बस्न पाएको उनले बताए।
उनले चीनको वुहानका विभिन्न ठाउँबाट आएकासँग क्वारेन्टाइनमा चिनजान गरी सम्बन्ध विस्तार गर्न पाएकामा खुशी लागेको अनुभव सुनाए।
अहिले स्थानीय पनि त्रास हटाएर घर फर्किएको सुन्दा भने खुशी लागेको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले बताए। क्वारेन्टाइनमा रहेका डाक्टर पढ्न चीन गएका एक विद्यार्थीले भने, ‘म डाक्टर पढ्न चीन गएको हुँ, वुहान कोरोनाको मुहान हो, कोरोना नियन्त्रण गर्न चीनलाई मुश्किल परेको छ, त्यसैले हाम्रो सरकारले कोरोनालाई नर्मल लिनुहुँदैन, बेलैमा सबै प्रकारको सावधानी अपनाउनु आवश्यक छ।’