नेकपाका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन्। बलात्कार आरोप लागेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य रावल बुधबार पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रदेश सभामा नेकपा संसदीय दलका सचेतकसमेत रहेका रावलविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी दिएकी थिइन्। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। आरोप लगाउने महिला सांसद रावलको चिनजानकै हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुदिप गिरीका अनुसार प्रहरीले खोजिरहेको थाहा पाएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्। 'उहाँलाई हामीले खोजी रहेका पनि थियौं। पछि उहाँले कहाँबाट थाहा पाएर आफैं आउनुभयो,' निरीक्षक गिरीले भने।
अहिले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी उनले बताए।
बिहीबार रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने निरीक्षक गिरीले बताए। रावल पूर्वमाओवादी केन्द्रको तर्फबाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन्।