प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपणपछि अपरेशन थिएटरबाट आइसीयू कम्प्लेक्समा सारिएको छ। ओलीलाई बुधबार साढे ४ बजे अपरेशन थिएटरसँगैको आइसीयू कम्प्लेक्समा सारिएको हो।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन्।
प्रधानमन्त्री ओलीको होस पनि खुलिसकेको छ। उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ। प्रत्यारोपण सकिएयता बिहीबार बिहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब गरेको प्राडा प्रेम खड्गाले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले पिसाब गर्नु भएको छ, उहाँको नयाँ मिर्गौलाले काम गर्न थालेको छ ।’ अवस्था स्थिर रहेमा प्रधानमन्त्री ओलीलाई बिहीबार कालो चियासहितका तरल पदार्थ खुवाउने तयारीमा उपचारमा संलग्न चिकित्सक छन् ।
यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएलगत्तै उनको स्वास्थ्यवस्थाबारे जानकारी लिन मन्त्री, सांसद लगायत विशिष्ट व्यक्तिहरु अस्पताल पुगेका थिए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर रायर उद्योग राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन्।
यस्तै प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु र सांसदहरु समेत अस्पताल पुगेका छन् । अस्पतालले प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई दिएको छैन।
प्रधानमन्त्रीको प्रत्यारोपण शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, डा अनन्तकुमार थिए भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थिए। यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो।