डोल्पाको विकट गाउँ रंगमा मोटरबाटो पुग्दै, स्थानीयमा खुसी छाउँदै

ग्रामिण सामुदायिक पूर्वधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको बाटो। स्थलगत अवलोकन गर्दै संचारकर्मीसहितको प्राविधिक टोली।

त्रिपुरासुन्दरी नगरपालिका ४ रंग गाउँका स्थानीयको वषौदेखिको गाउँमा मोटरबाटो पुर्‍याउने सपना पुरा हुने भएको छ। ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा सेपीधारादेखि माथिल्लो रंग गाउँसम्मको १ एक किलोमिटर मोटरबाटो निर्माण शुरू गरिएसँगै रंगेलीको लामो समयदेखिको मोटरवाटो सपना पुरा हुने भएको हो।

ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा ११ लाखको लागतमा उक्त मोटरवाटोको निर्माण थालिएको हो। आर्थिक वर्ष २०७५/०७६ मा ३५ लाख ७५ हजारको लागतमा ठाटीखोलादेखि रंग गाउँसम्मकै १ किलोमिटर ८ सय मिटर  मोटरबाटो निर्माण गरिसकेको ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमले आर्थिक वर्ष ०७६/०७७ मा सेपीधारादेखि गाउँसम्मको  मोटरबाटो निर्माण गर्न थालेको हो।

मोटरबाटो निर्माण गरिएपछि रंग गाउँका बासिन्दालाई त्रिपुरासुन्दरी नगरकेन्द्रमा आवतजावत गर्न सहज भएको छ। विगतमा बाटो नहुँदा जोखिम मोलेर भीरको बाटोमा आवतजावत गर्दा समस्या थियो। अहिले मोटरबाटो नै बनेपछि आवतजावतमा सहज भएको स्थानीय विमला बुढाले भनिन्।

मोटरबाटो बनेपछि त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र कोटबजारसम्म गाउँमा उत्पादित स्याउ, ओखर, तरकारी लगायतका दैनिक उपभोग्य बस्तु लिएर विक्रीवितरण गर्न सहज भएको बुढाको भनाई छ।

अर्का स्थानीय वलराम बोहराले आफूहरूको लागि ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम सहयोगी बनेर आएको बताए। मोटरबाटो निर्माण मात्र होइन फलफूल खेती विकास तथा संरक्षणको लागि घेरावार र सिँचाई जस्ता कार्यक्रम प्रभावकारी बनाउन सामुदायिक पूर्वाधार विकास कार्यक्रम प्रभावकारी रहेको पनि बोहराले बताए।

स्थानीय युवा दत्त बुढाले गाउँमा भित्रिएका र भित्रदै गरेका अन्य विकास कार्यक्रमहरु पारर्दशिता नबनिरहेको बेला सामुदायिक पूर्वाधार विकास कार्यक्रमले सञ्चालन गरेका कार्यक्रम स्थानीयको हितमुलुक जीवनउपयोगी रहेको बताउँदै रंग गाउँका बासिन्दाको जीवनस्तरमाथि उठाउने कार्यमा सहयोगी रहेको बताए।

ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमका संयोजक तथा ईन्जिनिएर मुनेश्वर ठाकुरले कार्यक्रम सञ्चालन गर्नु अगाडि स्थानीयसँग बसेर कार्यक्रमको अभिमुखिकरण कार्यक्रमको उद्देश्य, सञ्चालन अवधि विनियोजित बजेट, स्थानीयको सहभागिता र प्रविद्दता सम्बन्धि सामुहिक छलफलसमेत गरिने भएकाले पनि योजना सञ्चालन तथा बजेट पारदर्शितामा अन्य निकायको भन्दा फरक रहने बताए।

उनका अनुसार रंग गाउँमा मोटरबाटोको अतिरिक्त स्थानीयको लागि फलफूल खेती प्रोत्साहन  घेरावार तथा सिँचाईका लागि विभिन्न कृषक समूहलाई ६ लाख बराबरको सहयोग उपलब्ध गराएको पनि संयोजक ठाकुरले जानकारी दिए।

रंग गाउँमा निर्माण थालिएको र गत वर्ष निर्माण गरिएको मोटरबाटो तथा सञ्चालित कार्यक्रमको प्रभावकारिता र उपलब्धी बुझ्न सञ्चारकर्मी र प्राविधिक सहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरि कामको प्रगतिको बारेमा समुदायस्तरमा बसेर जानकारी लिएको थियो ।

प्रकाशित मिति: : 2020-03-05 22:03:45

प्रतिकृया दिनुहोस्