तीन अध्यक्ष रहनेगरी राप्रपा र राप्रपा संयुक्तबीच एकता गर्ने सहमति, घोषणा सभा २८ फागुनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ। लामो छलफल र संवादपछि राप्रपा (संयुक्त) र राप्रपाबीच एकता गर्ने सहमति भएको हो ।

एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार बेलुकी हस्ताक्षर गरेका छन् । घोषणा सभा फागुन २८ गते हुनेछ ।

सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन्। केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाडलगायत दैनिक कार्य संचालन तीनजना अध्यक्षहरुको सहमतिमा गरिनेछ ।

संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्नेछ ।

दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ । एकीकरण सम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका संझौतालाई मान्यता दिइनेछ ।

विधान संचालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षहरुको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ ।

६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ। सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ।

शनिबार रातिको सहमतिअनुसार हाल कायम रहेका दुबै दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हाल प्रयोग भएको राप्रपाको झण्डा प्रयोग गरिनेछ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा (संयुक्त) बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना र राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-08 21:36:14

प्रतिकृया दिनुहोस्