कालाबजारीले मास्क र स्यानिटाइजर अभाव, प्रजिअ दाहाल भन्छन्- भेटिए जेल हाल्छाैं

नेपालन्यूज

काठमाडौं

कोरोना भाइरस (कोभिड-१९) को सङ्‌क्रमण फैलिने त्रासका बीच बजारमा सर्जिकल मास्क र स्यानिटाइजर (हात सफा) गर्ने औषधिजन्य वस्तुको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन्। व्यवसायीले 'कृत्रिम अभाव' सिर्जना गरेर कालाबजारी गरेका कारण याे समस्या देखिएकाे हाे।

एकातिर बजारमा सर्जिकल मास्क र स्यानिटाइजर पाइन छाडेको छ। अधिकांश व्यवसायीले भने सामान्य अवस्थाको तुलनामा २ सय प्रतिशतसम्म मूल्य बढाएर यी वस्तु बेचिरहेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा अनुगमन गर्दै आएको जिल्ला प्रशासन कार्यालयले कालाबजारी गर्ने व्यवसायीविरुद्ध निर्मम हुने चेतावनी दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कालाबजारी गर्ने जो कोहीलाई जेल हाल्ने चेतावनीसमेत दिएका छन्।

‘मास्क, स्यानिटाइजरलगायत वस्तुको कालाबजारी गरी मूल्यवृद्धि गर्दै अनुचित नाफा लिएर बजारमा बिक्री गरेको भन्ने सुनिन्छ,’ उनले भने, ‘त्यस्तो कार्यमा संलग्नमाथि निर्मम ढङ्‌गले कारबाही गरिन्छ।’

प्रकाशित मिति: : 2020-03-09 22:25:17

प्रतिकृया दिनुहोस्