अमेरिकामा मंगलबार विदेश र ६ राज्यमा प्राइमरी: मत सर्भेक्षणमा बाइडन नै अगाडि

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा ४६औं राष्ट्रपति छान्ने पार्टीगत आन्तरिक चुनाव प्राइमरी जारी छ। यही क्रममा मंगलबार थप ६ राज्य र विदेशमा रहेकाले मतदान गर्ने निर्वाचन क्षेत्र गरी सात निर्वाचन क्षेत्रमा मतदान हुदैछ। 

मतदान हुने राज्यमा इडाहो, मिचिगन, मिजौरी, मिस्सीसिपि, नर्थ डाकोटा र वासिङटन रहेका छन्।  यी राज्यमध्ये इडाहोबाट २०, मिचिगनबाट १२५, मिस्सीसिपिबाट ३६, मिजौरीबाट ६८, नर्थ डाकोटा १४ र वासिङटनबाट ८९ डेलिगेट्स गरी ३५२ डेलिगेट्सको निर्णय हुन्छ। डेमोक्रेट पार्टीको विदेश निर्वाचन क्षेत्रबाट १३ डेलिगेट्सको चयन हुनछ । यसरी समग्रमा मंगलबार ३६५ डेलिगेट्सको निर्णय हुन्छ।

साउथ क्यारोलाइना प्राइमरीपछि जागेका बाइडन सुपर टुज्डेपछि चम्केका छन्। भोलि मंगलबार हुने निर्वाचनमा पनि बाइडनकै पल्ला भारी हुने मत सर्भेक्षणका परिणाम सार्वजनिक भएका छन्। २०१६ को प्राइमरीमा जितेको र यसपटक पनि ठूलो आश गरेको मिचिगनमा बर्नी दुई अंकको मतान्तरमा पछि पर्ने जनाइएको छ।अन्य कतिपय राज्यमा पनि बाइडनकै पल्ला भारी भएको देखाइएको छ। 

अमेरिकामा मंगलबार विदेश निर्वाचन क्षेत्र र स्वदेशका ६ राज्यमा राष्ट्रपति उम्मेद्वार चयनका लागि प्राइमरी हुदैछ। डेमोक्रेटिक पार्टीमा ३६५ डेलिगेट्सका लागि हुने यस लटको चुनावमा पनि वाइडनै पल्ला भारी हुने मत सर्भेक्षणहरूले देखाएका छन्। अमेरिकी डेमोक्रेट्समा ट्रम्पलाई पराजित गरे भने बाइडनले मात्र गर्न सक्छन् भने एक किसिमको मनोविज्ञान सिर्जना भएजस्तो देखिन्छ। यो मनोविज्ञानले बर्नीको दाबेदारी क्रमश: फितलो बनाउँदै लगेजस्तो  छ।

डेमोक्रेटिक पार्टीमा अझै पनि तीनजना उम्मेद्वार मैदानमा छन्। कंग्रेसवुमन तुल्सी गवार्डको नाम मात्रको उपस्थिति छ भने प्रतिस्पर्धा पूर्वउपराष्ट्रपति जो बाइडन र सिनेटर बर्नी साण्डर्सबीचमै छ। साउथ कारोलाइना प्राइमरीपछि जागेका बाइडनले सुपर टुज्डेमा सुनामी नै ल्याए। अहिले उनी ६३५ डेलिगेट्सका साथ अग्रस्थानमा छन् भने ५५८ डेलिगेट्सका साथ स्याण्डर्स उनलाई पछ्याइरहेका छन् । 

रिपब्लिकन र डेमोक्रेट दुबै पार्टिको प्राइमरी जारी भए पनि  रिपब्लिकन पार्टीमा राष्ट्रपति ट्रम्पको एक छत्र भएकाले रिपब्लिकन  प्राइमरीको कुनै चर्चा छैन। रिपब्लिकन पार्टीमा ट्रम्पलाई मासाचुसेट्सका पूर्व गभर्नर वेल्डले नाम मात्रको चुनौति दिएका छन्। अहिलेसम्म ८३४ डेलिगेट्सको निर्णय भैसकेकोमा ट्रम्पले ८३३ डेलिगेट्स जितेका छन् भने उनका प्रतिद्वन्दी वेल्डले १ डेलिगेट्स। रिपब्लिकन पार्टीमा उम्मेद्वारी जित्न १२७६ डेलिगेट्स आवश्यक पर्छ। रिपब्लिकन पार्टीमा कुल डेलिगेट्स संख्या रहेको छ। 

प्रकाशित मिति: : 2020-03-10 13:57:47

प्रतिकृया दिनुहोस्