भीर-पहराको उकालो 

लघुकथा: 

उनी अचेल पनि भीर-पहराकै उकोलो बाटोमा छिन्। अझै खडेरी र हिमपातको सामना गर्दै, त्यतैकतै बेपत्ता पारिएको आफ्नो ‘अमूल्य निधि’ खोजिरहेछिन्। जसरी हिजो घनघोर सङ्ग्रामकालमा लस्करका लस्करसँग सामना गर्दै खोजिन्थ्यो ।

उनी भन्छिन्-‘आँखालाई आँसु कहिल्यै भारि हुँदैन न बढिनै हुन्छ। तै पनि आँसु जिन्दगीको सर्वोत्तम औषधि हो। जो पोखिँदा जिन्दगीका अपूरणीय घाउहरू सन्चो हुन्छन्। तर, आस्थाको धरोहर ढलेको घाउ पुर्न, त्यो पनि अपर्याप्त रहेछ।’
मुक्तियुद्वको भुमरीमा उनको श्रीमान वेपत्ता बनाईए। जो आज पर्यन्त लापता नै छन्।

उनको बुझाईमा - ‘श्रीमान बेपत्ता बनाईए यताको लामोअन्तरालमा यो धर्तीमा उज्यालो ल्याउन अन्धकार जलाएर सखाप पार्ने सपनामा तुषारापात भैसक्यो । किनकी यसका सारथीहरू नै अचेल क्रान्तिको उज्यालो सकेर भ्रान्तिको अंधकार फैलाउन तल्लीन छन्।

सँधै तलबाट माथि र माथिबाट तल हेराहेर गर्दै बाझेर नथाक्ने धर्ती र आकाशलाई एक गराउने अभिष्टको पनि अन्त्य भइसक्यो। किनकि, यसका प्रवर्तकहरू नै अचेल वर्ग-बिभेद बढाउन मरिमेटी रहेछन्।’

तर, उनको मनमा आशाको दियो जलिरहेकैछ अझै। अचेल भन्छिन्- ‘मान्छेको देखिने उज्यालो र हँसिलो अनुहार अनि मिठो अभिव्यक्तिसँग तिनको मन र व्यवहार पटक्कै नमिल्नेरहेछ। हरियो घाँसमा भुलाएर पशुवध गर्ने वगरे भन्दा, आफ्नो सत्तारोहणको कोटीहोमका लागि मानव रेँट्ने महा-कसाईहरू पटक्कै नचिनिने रहेछन्।

यद्दपि, त्यो नरवलिको कालखण्डमा चडाईएको बलिको रगत र बेपत्ताहरूको काँधमा चडेर कुर्लिनेहरूको, त्यतिबेलाको उचाईको शिखर भने,  अचेल ढलेर मैदानमात्र होईन पाट्नै नसकिने खाल्टो परिसकेको छ। यसको तिब्रता र व्यापकता हेर्दा, यो खाल्टोमा एकदिन सिङ्गै दुनियाँ नै भासिन बेर छैन, जस्तो प्रतित हुन्छ। 

अपितू, अर्कोतिर पतनको डुङ्गुर चुलिएर भने सगरमाथाको उचाईलाई नै चुनौती दिईरहेछ। यो सव हेर्दा यस्तो लाग्छ, पतनको कुनै वतन नहुनेरहेछ, न रोक्ने-रोकिने कुनै लगाम नै।

तथापि, जे जसो भए पनि घाउहरू त दुखिनै रहन्छन्। किन्तु, सम्झना चाँही घाउ दिलाउनेहरूकै धेरै आउँदोरहेछ ।’

त्यसैले उनी गहभरि आँसु पारेर अझ जोडदिँदै भन्छिन्  - ‘मरे यहीँ, बाँचे यहीँ। बेपत्ता आफन्तहरू नभेटिएसम्म तिनीहरूको खोजीमा सीत, तुषारो र हिमपातसँग म सँधै यै भीर-पहराको उकालोमै हुन्छु।’

टोकियो जापान ।

प्रकाशित मिति: : 2020-03-11 01:49:47

प्रतिकृया दिनुहोस्