पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले निवासमा बम विस्फोटको घटनाबारे आफू बोल्न नमिल्ने बताएका छन्।
बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो। घटना संग्लग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ पक्राउ परेका छन्।
‘सरकारले अनुसन्धान गरेर अपराधी पत्ता लगाओस्। कारवाही गरोस्। योभन्दा बढी म के भनूँ,’पूर्वसञ्चारमन्त्री बाँस्कोटाले बिएल नेपालीसेवालाई संक्षिप्त प्रतिक्रिया दिए।
सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि पूर्वसञ्चारमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। विस्फोटका बेला बाँस्कोटा भने निवासमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन्। उनी आफ्नो निवास सरेका छैनन्।
स्रोतका अनुसार बाँस्कोटाले राजीनामा दिएपछि उनीलक्षित आक्रमण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो। प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो।