प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ। यसअघि यही फागुन २३ गते कार्यसूचीमै चढाएर पनि यो विषयलाई हटाइएको थियो। बिहीबार सम्भावित कार्यसूचीबाटै हटाइएको हो।
कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने गरी संभावित कार्यसूची तय भएको थियो। तर, अन्तिममा आएर कार्यसूची फाइनल हुने बेला हटेको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताएपछि सम्भावित कार्यसूचीबाट यो प्रस्ताव हटेको बताइएको छ।
पूर्वमन्त्रीसमेत रहेका नेकपा सांसद् खगराज अधिकारीले चार महिनाअघि यो संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए। सो प्रस्तावको समर्थक नेकपाकै सांसद् रामकुमारी झाँक्री छिन्।
केही महिना अघि भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि चर्को विरोध भएको थियो।
जनस्तरबाट विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकले भारतीय नक्सामा पारिएका नेपाली भूभाग कूटनीतिक माध्यमबाट फिर्ता गराउन सरकारलाई सुझाव दिएको थियो। त्यसपछि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी सेना हटाउने र नेपाली भूभाग फिर्ता गराउने घोषणा गरेका थिए ।