नेपाल जान लागेका नेपाली अमेरिकाका विमानस्थलमै रोकिए !

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

नेपालको भिसा र स्वास्थ्य परीक्षण प्रमाणपत्र नभएका यात्रुहरूलाई अमेरिकाका विभिन्न विमानस्थलमै रोकिएको छ। त्यस्ता यात्रुहरूलाई नेपालमा प्रवेश नदिने भएकाले विमान कम्पनीहरूले उनीहरूलाई विमानमै चढ्न नदिइएको भुक्तभोगीहरू बताउँछन्।

कान्सास सिटीबाट शिकागो हुँदै नेपाल जान लागेका रमण केसीलाई अमेरिकन एयरलाइन्सले कान्सास सिटी विमानस्थलमै विमानमा चढाएन। एयरलाइन्सकी एक कर्मचारीले शिकागोबाट नेपाल उडाउने विमान सेवाको निर्देशन अनुसार त्यसो गर्नुपरेको जनाएको केसीले बताए। ' तपाईलाई नेपालमा प्रवेश गर्न दिइदैन, अलपत्र पर्नुहुन्छ, त्यसैले अहिले हामी जे गरिरहेका छौ, तपाईकै हितमा गरिरहेका छौं' एयरलाइन्सकी एक कर्मचारीले भनेको भन्दै केसीले ब्रेक एन लिंक्सलाई बताए।

न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा पनि कतार एयरवेजले नेपाल जान लागेका यात्रुलाई विमानमा चढाएन। पेन्सेल्भेनियाको ल्यानकास्टरमा बस्दै आएकी सीता बाँस्कोटाले शुक्रबार यस्तै भोग्नु पर्यो । उनले भनिन्, ' मसँग नेपालकै पासपोर्ट थियो तर स्वास्थ्य परीक्षण रिपोर्ट थिएन। त्यो रिपोर्ट नभएकाले जान पाइदैन भन्दै कतार एयरवेजका कर्मचारीले मलाई बोर्डिङ पास नै दिएनन्।'

मसँग नेपालकै पासपोर्ट थियो तर स्वास्थ्य परीक्षण रिपोर्ट थिएन। त्यो रिपोर्ट नभएकाले जान पाइदैन भन्दै कतार एयरवेजका कर्मचारीले मलाई बोर्डिङ पास नै दिएनन्।

लस एञ्जलसमा पनि एक नेपाली एनआरएन कार्ड होल्डरले त्यही समस्या भोग्नु पर्यो। पाल्पाका रमित नेपाल भन्छन्, ' मेरो एमिरेट्स एयरलाइन्सको काठमाडोैं जाने टिकट थियो। मैले एनआरएन परिचयपत्र देखाएँ। उनीहरूले स्वास्थ्य परीक्षण रिपोर्ट पनि देखाउन भने। मसँग त्यो थिएन। त्यसपछि उनीहरूले त्यो नभई नपालमा प्रवेश गर्न दिइदैन भन्दै बोर्डिङ पास नै जारी गरेनन्।'

नेपालले मार्च १४ को मध्यरातिदेखि अप्रिल ३० सम्म नेपालमा अनअराइभल भिसा नदिने निर्णय गर्नुका साथै भिसा भएकालाई पनि स्वास्थ्य परीक्षण प्रतिवेदनबिना नेपाल प्रवे गर्न नदिने निर्णय गरेको छ। यही निर्णयको आधारमा अमेरिकाबाट नेपाल जाने यात्रुहरू रोकिएका हुन्। 

प्रकाशित मिति: : 2020-03-14 19:11:58

प्रतिकृया दिनुहोस्