सात वर्षअघि प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

 सात वर्षअघि तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन्। नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार साँझ पक्राउ परेका बागलुङका कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए। अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो। उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो।

वृतका डीएसपी दुर्गाराज रेग्मीले भने, ‘संसद भवनको गेटमै शौचालय छ। उनी त्यहाँ गएका रहेछन्। त्यसपछि ल्याइएको हो। मैले छाड्न भनिसकेको छु।’ यद्यपि, यो विगतको घटनासँग सम्बन्धित नभएको उनले बताए। कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन्।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए। बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए।
 

प्रकाशित मिति: : 2020-03-16 04:02:11

प्रतिकृया दिनुहोस्