आज अमेरिकामा बाइडेन र स्याण्डर्स आम्नेसाम्ने हुँदै, को कति पानीमा ?

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकी चुनाव कोरोनाको छायाँमा परेको छ। रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेद्वारले आआफ्ना चुनावी क्याम्पेन स्थगित गरेका छन्। सुरूमा डेमोक्रेटिक पार्टीका उम्मेद्वारले स्थगित गरेका थिए भने चुनावी अभियान कायमै राख्ने बताएका रिपब्लिकन राष्ट्रपति पनि अन्नत: स्थगित गर्न बाध्य भएका थिए।

आज डेमोक्रेटिक पार्टीका उम्मेद्वारको राष्ट्रपतीय वहस हुदैछ। आजको वहसमा पहिलोपटक पूर्व राष्ट्रपति जो बाइन र सिनेटर बर्नी स्याण्डर्स आम्नेसाम्ने हुने भएका छन्। तर, यो बहस बिना दर्शक खालि स्टुडियोमा हुने छ।  अमेरिकी राष्ट्रपति बहसको इतिहासमा यो दुर्लभ अवसर आइलागेको पहिलोपटक हो।

सुरूमा यो बहस अरिजोनामा गरिने भनिएको थियो। तर, कोरोना भाइरस संक्रमणकै कारण त्यहाँ नगरेर वासिङ्टन डीसीस्थित सीएनएनको स्टुडियोमा सारिएको छ। 

आजको वहस अमेरिकी पूर्वी समयअनुसार साँंझ ८ बजेदेखि १० बजेसम्म हुने छ। कोरोना भाइरसका कारण धेरै अमेरिकी घरमै बसेकाले आजको बहस धेरै अमेरिकीले हेर्ने अनुमान गरिएको छ।

आजको बहस दुबै उम्मेद्वारका लागि मात्र हैन, डेमोक्रेटिक पार्टीका लागि समेत महत्वपूर्ण हुने छ। वहसमा अग्रस्थानमा रहेका बाइडेन रक्षात्मक र पछि परेका स्याण्डर्स आक्रमक हुने अनुमान गरिएको छ। 

आजको बहसको केन्द्रविन्दुमा पनि कोरोना भाइरस नै हुने प्रक्षेपण गरिएको छ। उनीहरूले यो संक्रमणबाट बच्ने आफ्ना धारणा राख्नुका साथै राष्ट्रपति ट्रम्पले लिएको कोरोना भाइरस नीतिका बारेमा पनि आफ्नो प्रतिक्रिया दिने छन्। 

आजको बहसपछि डेलिगेट्समा पछि परेका स्याण्डर्सले उम्मेद्वारी कायमै राख्ने वा त्याग्ने भन्ने बारेमा पनि आफ्नो धारणा राख्नुपर्ने हुन्छ। डेलिगेट्सको अंकगणितमा पछि परेका उनलाई उम्मेद्वारी त्यागेर ट्रम्पविरूद्ध एकजुट भएर अगाडि बढ्न दबाब बढ्ने छ।  

यो वहस मंगलबार अरिजोना, इलिनोय, फ्लोरिडा र  ओहायोमा  प्राइमरी हुने पूवसन्ध्यामा हुन लागेको हो। कोरोना भाइरस संक्रमणका कारण थोरै मतदाताले मात्र मतदान गर्ने अपेक्षा गरिएको छ। खासगरी, वृद्ध मतादाताहरूको सहभागिता न्यून हुने सम्भावना बढ्दो छ। 

यस्तो अवस्थामा युवा मतदातामाझ प्रिय रहेका बर्नी स्याण्डर्सलाई केही राहत हुने अपेक्षा गरिएको छ। 

यसअघि २३ राज्यमा प्राइमरी र ककस भैसकेको छ। २३ मध्ये १६ राज्यमा बाइडेन र ७ राज्यमा बर्नी बिजयी भएका छन्। अहिलेसम्म १६४३ डेलिगेट्सको छिनोफानो भैसक्दा बाइडेनले ८४५ र स्याण्डर्सले ६९४ डेलिगेट्स जितेका छन्। २ डेलिगेट्स जितेकी कंग्रेसवुमन तुल्सी गवार्डले चुनावी उम्मेद्वारी कायमै राखेता पनि वारेन, बुटिजज ब्लुम्बर्ग, क्लोबचरले उम्मेद्वारी त्यागिसकेका छन्। उनीमध्ये वारेनले ४४, बुटिजजले २६,  ब्लुम्बर्गले २५ र क्लोबचरले ७ डेलिगेट्स जितेका थिए।

डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वारी जित्न पहिलो चरणमा १९९१ डेलिगेट्स आवश्यक पर्ने भएकाले अब त्यो जादुगरी संख्या पाउँन असम्भव नै छ। दोस्रो चरणको चुनावमा सुपर डेलिगेट्स निर्णायक हुन्छन्। त्यस्तो अवस्था आउटसाइडर्स बर्नीको विपक्षमा हुने लगभग निश्चित छ। 

प्रकाशित मिति: : 2020-03-16 13:06:34

प्रतिकृया दिनुहोस्