जम्काभेट– १

कमेडियन खबपुसँग जम्काभेट, के दिए ९ प्रश्नको उत्तर ? (भिडियोसहित)

हास्यकलाकार खड्गबहादुर पुन मगर (खबपु)ले भेट्याे कि हसाइहाल्छन्। हुन पनि उनकाे स्वभाव नै त्यस्तै छ, प्रत्येक शब्द शब्दमा हँसाउने। उनमा यस्ताे स्वभाव चाहिँ बाजे र बुबाबाट सरेकाे रे। अब बाल्यकालमा उनले राेल्पाका गाउँ/पाखा हँसाए कि हँसाएनन् थाहा भएन तर काठमाडाैँ आएर कमेडी क्लबकाे गर्मिलाे सेटमा छिरेपछि उनले देशबासीलाई पेट मिचिमिचि हँसाए। काठमाडाैँ आएर उनले अरुलाई हँसाएका मात्रै छैनन् आफू पनि हाँसिरहेका छन्। तर, कसरी ? शुक्रबार काठमाडाैँकाे ठमेल पार्कमा आयाेजित नेपाल मगर पर्यटन समाजकाे कार्यक्रममा सम्मानित भएपछि गम्मक परेर बसेका खबपुलाई बिएल नेपाली सेवाका रविन पुन मगर (आइडु)ले ९ प्रश्न साेधेका छन्:


तपाईंलाई नेपाल मगर पर्यटन समाजले सम्मान गर्‍याे, कस्तो लागिरहेको छ ?

सम्मानको कुनै मूल्य हुँदैन, म अझै पनि सम्मान खाने ठाउँमा पुगिसकेको छैनँ। तर पनि क्षेत्रीय, भेगीय या अन्य कुनै रुपमा हामीलाई सम्मान गर्नुहुन्छ, खुसी लाग्छ। आजको यो सम्मानले खुसी छु। थप जिम्मेवारी थपिएको महसुस गरिरहेको छु। नेपाल मगर पर्यटन समाजलाई धेरै धन्यवाद।

आज-भोलि के मा व्यस्त हुनुहुन्छ ?

आज-भाेलि त्यस्तो धेरै बिजी छैन। कमेडी हबको एग्रिमेन्ट सकियो। यो बिचमा एक/दुई वटा ठुलो पर्दाको काम गर्ने मौका पाए। वैशाख १ गते नाइ नभन्नु ल ६ र चिठी मुभिमा काम गरेको छु। सरोज खनाल, सुनिल थापाजस्ता लिजेण्ड कलाकारसँग लालबहादुर नामको वेव सिरिजमा काम गरिरहेको छु।

तपाईं नाच्ने गाउने हँसाउने सबै गर्नुहुन्छ ? मल्टिट्यालेन्ट कसरी बन्नु भयो ?

मल्टिट्यालेन्ट नै त होइन, काम गर्दै जाँद गरिएका कामहरु हुन। तपाईं हामी जसले पनि आफ्नो क्षेत्रमा काम गर्दै जाँदा धेरै कामहरु सिकिन्छ गरिन्छ, त्यो सामान्य हो। म भन्दा थुप्रै ट्यालेन्टहरु गाउँ/घरमा भेटिन्छन्। संयोग मिल्यो भने मौका पाए भने सबैले आफ्नो ट्यालेण्ट देखाउन पाउछन् र सक्छन् पनि।

तपाईंको बाल्यकाल कस्तो रह्यो नि ?

बाल्यकालमा म अलिक फटाहा नै थिएँ, भनेको मतलव अलिक एक्स्ट्रा एक्टिभिटी (अतिरिक्त क्रियाकलाप)मा अग्रसर हुने बानी थियो। पढाइमा भन्दा पनि अतिरिक्त क्रियाकलापमा बढी नजिक हुन्थेँ। ३०औँ वसन्त पार गरुन्जेल धेरै काममा हात हालेँ। कतै सफल भएँ, कतै असफल।

पहिलाे पटक काठमाडौँ कहिले आउनु भएकाे थियाे नि ?

म वि.सं. २०७४ साल वैशाख अन्तिमतिर आएको हुँ। जिल्लामा म राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठानमा दुई कार्यकाल अध्यक्ष भएर बिताएँ। जिल्लामा नाच सिकाउने पनि गर्थेँ। सडक नाटकहरु गर्थेँ। तर, पनि मनमा काठमाडौँ आएर अझै सिक्न मन थियो। त्यसैले यो क्षेत्रमा थप सिकाइकै लागि काठमाडौँ आएको हुँ।

सुरुवाती दिनहरुमा कत्तिको सजिलो भयो ?

काठमाडौँ आएलगत्तै कामहरु गर्न थालिहालेँ। दोहोरी साँझमा काम गरेँ तर धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने भयो। अभिनय सिकेँ, गाउन सिकेँ, नाच्न सिकेँ। चार/पाँच वटा स्कुलहरुमा अभिनय सिकाउने अवसर पाए। सुरु-सुरुमा गाह्राे भयो तर पछि काम सिक्दै गर्दै जाँदा अलि सहज भयो।

सेलिब्रेटी हुँदा र नहुँदा बिचको जीवन कस्तो पाउनु भयाे ?

धेरै फरक हुँदो रहेछ। जब म पर्दापछाडि हुँदा कार्यक्रममा बोल्न पाए, नाच्न पाए र देखिन पाए हुन्थ्योजस्तो लाग्थ्यो। मेला महोत्सवमा नाम टिपाउथेँ तर स्टेजमा जानै पाउँदिन्थेँ। कसैले चिनिदियोस् लाग्थ्यो। तर, अहिले कहिलेकाहीँ एकान्त भइदिए हुन्थ्यो, यो ठाउँमा नचिनिदिए हुन्थ्योजस्तो लाग्छ। अब त बानि भइसक्यो।

कला क्षेत्रमा नेपोटिजम छ भनिन्छ, तपाईंले भोग्नुभयो ?

मेरो हकमा चाहिँ छैन। तर, मैले पनि वंशाणुगत गुण लिएर आएँ। मेरो बाजे रमाइलो मान्छे हुनुहुन्थ्यो। त्यस्तै मेरो बुबा पनि मेलापातमा साथीहरु हँसाउनुहुन्छ। त्यो गुण सर्‍याे मलाई पनि। तर, उहाँहरुले त्यो अवसर पाउनुभएन। मैले अवसर खोज्दै यहाँसम्म आइपुगेँ, यसलाई त नेपोटिजम भन्न नमिल्ला। तर, अलिक सजिलो हुन्छ होला। र, पनि कसैले जबर्जस्त कलाकार स्थापित गराउन सकिन्न।

तपाईंलाई परिवारबाट पहिलेदेखि नै सपोर्ट थियो ?

सपोर्ट थियो पनि थिएन पनि। सपोर्ट नहुँदा म कसरी यहाँसम्म आइपुग्थेँ र ? तर, पनि मेरो आमा, मेरो परिवारमा मैले गरेको काम बुझ्नु हुन्न। उहाँहरु हुर्केको/बसेको समाज फरक छ। र, पनि परिवारको साथ सपोर्ट थियो भन्नु पर्‍याे।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-14 20:30:00

प्रतिकृया दिनुहोस्