'कोरोना भाइरस संक्रमित भए उपचार राज्यबाट'

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन् । नेपालमा कोही पनि कोरोनाबाट संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए ।

‘कोरोनाबाट बिरामी भएको पुष्टि भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ’, राष्ट्रियसभा बैठकमा आइतबार उनले भने, ‘कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔं भन्ने सरकारको आग्रह हो ।’

उनका अनुसार ४ सय ६४ जनाको परीक्षण गरिएकोमा सबैको रिजल्ट ‘नेगेटिभ’ आएको छ । ‘नेपालमा आजसम्म एक जना पनि संक्रमित पाएका छैनौं’, उनले भने, ‘संक्रमण देखियो भने आवश्यक औषधि र औजारको जोहो गरेका छौं ।’

उनले कोरोना भित्रिन नदिन उच्च सावधानी अपनाइएको सुनाए । हात धुन, भेटघाटमा नमस्कार गर्न, खाना खाँदा सावधानी अपनाउन, भीडमा नजान जनतालाई आग्रह गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: : 2020-03-16 19:48:50

प्रतिकृया दिनुहोस्