कोरोनाको आतङ्कबीच सुरतमा बसिबियाँलो

विश्वलाई कोरोना भाइरसको आतङ्कले आफ्नो चपेटमा लिइरहेको कारण सार्वजनिक कार्यक्रमहरूमा रोक लागिरहेको अवस्थामा भारतको पश्चिमाञ्चलको व्यावसायिक नगर सुरतमा बसिबियाँलोको २३औँ प्रकरण सम्पन्न भएको छ। स्थानीय सामाजिक कार्यकर्ता एवम् व्यवसायी चुम्बकराज रेग्मीको घरपटित्वमा सम्पन्न मुम्बईको बसिबियाँलोको प्रकरणमा स्थानीय ४० जना विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सुरतको लाल दरबाजानजिक अहमदाबादी सोनीकी वाणीमा सम्पन्न कार्यक्रममा बसिबियाँलो बारे स्थानीय मानिसहरूलाई जानकारी गराइएपछि आचार संहिता पाठ गरिएको थियो। 

यस अवसरमा सिलगुडीकी सामाजिक कार्यकर्ता ममता लामाले नारीको योगदानको विषयमा कविता पाठ गरेर सुनाएकी थिइन्। कार्यक्रमको दोस्रो चरणमा हाम्रो छहारीको अन्तर्क्रिया सम्पन्न भएको थियो। यस चरणको अध्यक्षता आजाद न्युज च्यानलका प्रबन्ध निर्देशक रवीन्द्र टामटाले गरेका थिए।

कोरोना भाइरसको आतङ्कको कारण स्थानीय नगरपालिकाले अधिक सङ्ख्यामा जमघट हुनमा लगाएको रोकको कारण कम भेला भएका स्थानीय नेपाली, गुजराती अनि मारवाडी अतिथिहरूलाई सम्बोधन गर्दै हाम्रो छहारी, मुम्बईका सल्लाहकार हीरा छेत्रीले अभियानबारे जानकारी गराए। 

उनले मुम्बईमा मूलतः रोगोपचारका लागि भारतलगायत नेपाल तथा अन्य क्षेत्रबाट पुग्ने नेपालीभाषी तथा अन्य कुनै पनि जातिविशेषका आर्थिक रुपले कमजोर वर्गका रोगीहरूलाई ओत दिने लक्ष्यले सुरू गरिएको हाम्रो छहारी हालमा आफ्ना शुभचिन्तकहरूको आर्थिक सहयोगमा अस्थायी रुपमा सञ्चालनमा आइरहेको तर निकट भविष्यमै यसलाई सरकारी रुपमा मान्यता प्रदान गराएर स्थायी गराउने योजना अघि बढिसकेको बताए। 

रवीन्द्र टामटाले हाम्रो समाजमा शिक्षित अनि विकसितहरूको कमी रहेको बताए। उनले आजको भिडभाड र समयभाव रहने युगमा सामाजिक कार्यतिर ध्यान दिएर गरिवगुर्बाको लागि अघि आउने मुम्बईको हाम्रो छहारीका सबै सदस्यहरूप्रति कृतज्ञता प्रकट गर्दै आफ्नो पक्षबाट अभियानलाई सक्दो सहयोग गर्ने वचन दिए।

यस दिनको छोटो भेटघाट कार्यक्रममा भेला भएका धेरैजना स्थानीय व्यक्तिहरूले हाम्रो छहारी को तत्काल सदस्यता ग्रहण गरे भने कतिले मुम्बईको आश्रमको भ्रमण गरेर सामग्री आदि दान गर्ने प्रतिश्रुति दिए। 

प्रकाशित मिति: : 2020-03-17 09:52:29

प्रतिकृया दिनुहोस्