सकियो सुरक्षा कवज

कोरोना भाइरस संक्रमण भए–नभएको जाँच एवं घाँटीको र्‍याल (थ्रोट स्वाव) संकलन गर्दा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सकिन लागेको छ । दुई महिनायता एक हजार भन्दा बढी पीपीई सेट प्रयोगमा आइसकेको छ । पीपीईमा स्वास्थ्यकर्मी एवं अन्य सहयोगीले लगाउने विशेष खालको सुरक्षित सामग्री (गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट)लगायतका सामग्री हुन्छन् । पीपीई पुनः प्रयोग गर्न नमिल्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिए ।

चीनको उहानबाट उद्धार गरिएका १ सय ७५ नेपाली र आइसोलेनमा राखेर उपचार गराइएका स्वदेशी एवं विदेशीको घाँटीको र्‍याल (थ्रोट स्वाव) संकलन र स्वास्थ्य जाँचका क्रममा पीपीई प्रयोग गरिएको थियो । त्यस्तै, एम्बुलेन्स चालक, फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिले पनि पीपीई प्रयोग गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । कामका क्रममा हुने स्वास्थ्य खतरा (अकुपेसनल हाजार्ड) बाट जोगिन स्वास्थ्यकर्मीले पीपीई पहिरिनु पर्ने डब्लुएचओको मापदण्ड छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म ४ सय ६४ जनाको स्वाव परीक्षण गरिएको छ । ४८ जनालाई आइसोलेसन कक्षमा राखेर डिस्चार्ज गरिएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा.अनुप बास्तोलाले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने हुन्छ । आइसोलेसनमा बसेका बेला स्वास्थ्यकर्मीलाई पीपीई आवश्यकता पर्छ ।’

शुक्रराज अस्पताल स्वास्थ्य परीक्षण गराएका मध्ये एक जनामा भाइरस पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका ती व्यक्ति अहिले स्वस्थ रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले खरिद गरेको ६ सय पीपीई सेट सकिएपछि गत साता डब्लुएचओले एक हजार सेट उपलब्ध गराएको थियो । तीमध्ये पनि अहिले ९ सय मात्र बाँकी छ ।

प्रकाशित मिति: : 2020-03-18 03:50:44

प्रतिकृया दिनुहोस्