अमेरिकामा सुपर टुज्डे -३ : बर्नीको अर्को खराब दिन

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकाको सुपर टुज्डे श्रृंखला बर्नी स्याण्डर्सका लागि एकपछि अर्को प्रतिकुल निर्णय लिएर आइरहेको छ। त्यही क्रममा आजको सुपर टुज्डे-३ पनि उनको विपक्षमा गएको प्रक्षेपण गरिएको छ।

सुपर टुज्डे-३ का चार राज्यमध्ये ओहायोमा अन्तिम समयमा चुनाव स्थगित भएको थियो भने बाँकि तीन राज्य इलिनोय, फ्लोरिडा र एरिजोनामा निर्वाचन सम्पन्न भएको छ।

यो समाचार तयार पारून्जेलसम्म इलिनोय, फ्लोरिडा अरिजोना तीनवटै राज्यमा  जो बाइडनको शानदार जीत हुने प्रक्षेपण गरिएको छ। 

१५५ डेलिगेट्स रहेको इलिनोयमा बाइडेनले ५९ प्रतिशत मत पाउँदा स्याण्डर्स ३६.१ प्रतिशतमै सिमीत भएको प्रक्षेपण गरिएको छ। उता, २१९ डेलिगेट्स भएको फ्लोरिडामा बाइडेनले ६१.७ प्रतिशत मत पाउँदा स्याण्डर्सले २२.९ प्रतिशत पाउँने जनाइएको छ। यसैगरी अरिजोनामा बाइडेनले ४२.६ प्रतिशत मत प्राप्त गर्दा स्याण्डर्सले २९.७ प्रतिशत मत प्राप्त गरेका छन्। यसअघि सन् २०१६ को चुनावमा पनि यी तीनै राज्यमा बर्नी प्रतिस्पर्धी हिलारीसँग पराजित भएका थिए।

यो अंकगणितले बाइडनको दाबेदारी अरू प्रवल हुँदै गएको छ भने स्याण्डर्सको दाबेदारी फितलो हुदै गएको छ। स्याण्डर्सले आफ्नो उम्मेद्वारी कायमै राखे पनि अब त्यसको खासै अर्थ होला जस्तो देखिएको छैन। एक अर्थमा भन्ने हो भने एक किसिमको अर्घल्याई जस्तो देखिने सम्भावना बढ्दो छ। 

सुरूका चार प्रतिस्पर्धमा अगाडि रहेका स्याण्डर्स साउथ कारोलाइनापछि पछि पर्दै गए ।यसको अरू तपसिलका कारण पनि होलान् तर मूल कारण प्रतिस्पर्धामा रहेका मध्य तथा उदारधारका उम्मेद्वारले एकपछि अर्को गर्दै  बाइडनका लागि मैदान खालि गरिदिए । त्यसपछि ट्रम्पलाई हराउने बाइडनले मात्र हो भन्ने एक किसिमको संकथन बन्यो। ट्रम्पलाई हराउने उम्मेद्वार छान्दा बर्नीभन्दा बाइडन नै सही हुने डेमोक्रेटिक मतदाताको निणर्य देखियो । 

बर्नीले अब उम्मेद्वारी जित्दैनन्, यो निश्चित हो । तर, उनले आफ्ना प्रगतिशील एजेण्डा खासगरी नि:शुल्क शिक्षा र स्वास्थ्यका लागि लागि वाइडनसँग बार्गेनिङ गर्न सक्छन् । प्रगतिशील खेमाकै एलिजावेथ वारेनलाई उपराष्ट्रपति उम्मेदवार बनाउन मोलमोलाई गर्न सक्छन्।

त्यसैको असर सुपर टुज्डेका तीनवटै श्रृंखलामा देखियो। पहिलेभन्दा जतियता हुदै गयो, उति नै बर्नी पछि पर्दै गए भने बाइडन अघि बढ्दै गए। 

बर्नी समर्थकका लागि यो शुभ समाचार हैन तर बाइडनले ट्रम्पलाई हराउन सक्छन् भन्ने वर्ड अफ माउथ अक्टोबरसम्म जोगाउन सकियो भने त्यसले ट्रम्पलाई एक कार्यकालमै सिमीत गर्ने सम्भावना भने बढेर गएको छ। त्यसका लागि बर्नी समर्थकहरूले २०१६ को जस्तो गल्ती दोहोर्याउनु हुदैन। स्मरणीछ। २०१६ को डेमोक्रेटिक प्राइमरीले बर्जी र हिलारीबीच यति दूरी बढाएको थियो कि बर्नीका समर्थकले हिलारीलाई हराउन ट्रम्पलाई मतदान गरेका थिए। 

बर्नीले अब उम्मेद्वारी जित्दैनन्, यो निश्चित हो । तर, उनले आफ्ना प्रगतिशील एजेण्डा खासगरी नि:शुल्क शिक्षा र स्वास्थ्यका लागि लागि वाइडनसँग बार्गेनिङ गर्न सक्छन् । प्रगतिशील खेमाकै एलिजावेथ वारेनलाई उपराष्ट्रपति उम्मेदवार बनाउन मोलमोलाई गर्न सक्छन्।

त्यसो गरे भने बर्नी ह्वाइट हाउस नपुगे पनि प्रगतिशील एजेण्डा त्यहाँ पुर्याएर डेमोक्रेटिक पार्टीलाई बढी दक्षिणपन्थी हुनबाट रोक्नेछन्। अहिलेका लागि अमेरिका र अमेरिकी समाजलाई यही नै उनको योगदान हुने अवस्था सिर्जना भए जस्तो देखिएको छ।

आखिर एजेण्डाभन्दा समय वलवान हुने रहेछ। अहिलेको अवस्थामा ट्रम्पलाई हराउनु नै डेमोक्रेटिक खेमाको समयको माग बन्यो, त्यसका लागि समयको पासा बर्नीको पक्षमा पल्टेन, विपक्षमा पल्ट्यो। 

प्रकाशित मिति: : 2020-03-18 21:40:28

प्रतिकृया दिनुहोस्