९ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ। गत साउनदेखि हालसम्म २२ वटा गैँडा सोही कारणले मरेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लोपटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाइगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ। यसअघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्नेजस्ता कारणले गैँडा मर्ने गरेका छन्। गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ। विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन्। तर, प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७३/०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए। सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा गैँडा रहेका उनले जानकारी दिए।

गैँडा गणनाको तयारी

दुर्लभ एक सिङ्गे गैँडाको गणना गर्न आवश्यक तयारी अन्तिमचरणमा पुगेको निकुञ्जले जनाएको छ। यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु हुँदैछ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलोचरण र दोस्रोचरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ। चारवटा निकुञ्जमा गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा गणनाका लागि ३५ हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदैछ। प्रत्यक्षरुपमा गणना गरिँदैछ। २० दिनमा गणना गरिसक्ने योजना रहेको छ। गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रबाट गणना गरिँदैछ।

विगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ। बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन। दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको हो।

हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। तीमध्ये ६ सय ५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए। 

प्रकाशित मिति: : 2020-03-19 21:36:03

प्रतिकृया दिनुहोस्