अमेरिकामा कोरोना भाइरस नि:शुल्क परीक्षण, प्रभावितलाई तलवी विदा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा अब कोरोना भाइरसको नि:शुल्क परीक्षण हुने र कोरोना प्रभावितलाई तलबी विदा दिइने भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा उत्पति भई माथिल्लो सदन सिनेटले पारित गरेको एचआर ६२०१ नामको राहत प्याकेजमा हस्ताक्षर गरेपछि यो प्रावधान लागु भएको हो। 

यो प्रावधानअन्तर्गत कुनै पनि किसिमको स्वास्थ्य विमा नभएकाले पनि नि:शुल्क कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाउँनेछन् । यसैगरी कामदार क्वारेन्टाइनमा बस्नुपर्ने भए वा परिवारका सदस्यको हेरचाह गर्नुपर्ने भए तीन महिनाको तलबी विदा लिन सक्नेछन्। विधेयकमा व्यवसायीहरूलाई खर्च कभर गर्न ट्याक्स क्रेडिट दिइने भएको छ। 

गत शनिबार अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको यो विधेयक आजै सिनेटबाट पारित भएको थियो। तल्लो सदनमा विधेयकको पक्षमा ३६३ मत खसेको थियो भने ४० जना रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए। उता, सिनेटमा भने ९० जनाले पक्षमा र ८ जनाले विपक्षमा मतदान गरेका थिए। 

कोरोना कहरसँग जु्ध्न अमेरिकाका दुई प्रतिद्वन्दी पार्टीहरू एकसाथ भएर यो बाइ पार्टीसन विधेयक पारित गरेका हुन्। यी दुई प्रावधान मान्ने भए मात्र राष्ट्रपति ट्रम्पको मागअनुसार बजेट दिने अडानमा डेमोक्रेटिक नेतृत्व रहेको थियो ।

प्रकाशित मिति: : 2020-03-19 22:57:47

प्रतिकृया दिनुहोस्