२० मार्चमा निर्भयाका चारै दोषीलाई मृत्युदण्ड दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

मार्च २० तारिखमा निर्भयाका चारैजना दोषीलाई मृत्युदण्ड दिइने भएको छ। उनीहरुलाई  मृत्युदण्ड दिन पवन जल्लाद मेरठबाट दिल्ली पुगिसकेका छन्। उनी अहिले तिहाड जेलमा छन्।

दिल्ली हाइकोर्टले निर्भयाका दोषी मुकेशको याचिका खारेज गरिसकेको छ। निर्भयाका दोषी मुकेशले दिल्लीको पटियाला हाउस कोर्टको आदेशलाई चुनौती दिँदै आफ्नो मृत्युदण्डको सजायमा रोक लगाउन माग राखेका छन्।

यद्यपि, दोषीले दिल्ली हाइकोर्टका साथै पटियाला हाउस कोर्टमा पनि याचिका दायर गरेर २० मार्चका लागि तोकिएको मृत्युदण्ड रोक्न माग गरेका छन्। पटियाला हाउस कोर्टमा बिहिबार दिउँसो १२ बजे सुनुवाई हुँदैछ।

पवन जल्लादले इन्डिया टुडेको क्राइम तकसँगको कुराकानीमा मृत्युदण्ड दिइने घरभित्र इशारामा मात्रै कुरा हुने जानकारी दिएका छन्।

पवनले भनेका छन्, ‘मृत्युदण्डको मिति निश्चित हुनेबित्तिकै हामीलाई जेलमा बोलाइन्छ। मृत्युदण्ड दिनुअघि कैदीको खुट्टा कसरी बाँध्ने, डोरी कसरी लगाउने भनेर योजना बनाइन्छ।’

पवनका अनुसार मृत्युदण्डको तयारीमा एकदेखि डेढ घण्टाको समय लाग्छ। ‘कैदीलाई ब्यारेकबाट फाँसी घरमा ल्याउने प्रक्रियाबारे पवनले भने, ‘‘फाँसी घर’ ल्याउनु अघि कैदीको हातमा हत्कडी लगाइएको हुन्छ, यसो नगरिए उनीहरुको हातलाई पछाडिबाट डोरीले बाँधिएको हुन्छ। दुई सिपाहीले कैदीलाई समातेर ल्याउँछन्। ब्यारेकबाट ‘फाँसी घर’ को दुरीको आधारमा निश्चित समयअघि नै उनीहरुलाई ल्याउन सुरु गरिन्छ,’ उनले भने।

‘फाँसी घर’ बारे कुरा गर्दै पवन भन्छन्, ‘मृत्युदण्ड दिनेबेला ४–५ जना सिपाही हुन्छन्। उनीहरु केही पनि बोल्दैनन् मात्र इशारामा काम गर्छन्। यसका लागि एक दिन अघि नै हामी सबैको जेल अधिक्षकसँग एक बैठक हुन्छ। सिपाहीबाहेक फाँसी घरमा जेल अधीक्षक, डेप्युटी जेलर र डाक्टर पनि उपस्थित हुन्छन्।’

फाँसी दिने बेला इशारामा मात्रै किन काम गरिन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘कैदीलाई डिस्टर्ब नहोस् वा कसैले कुनै ड्रामा नगरोस् भनेर ईशारामा मात्रै काम गरिन्छ। ’

प्रकाशित मिति: : 2020-03-20 02:32:01

प्रतिकृया दिनुहोस्