कोरोनाबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ

कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पक्राउ परेका छन्। प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएका थिए।

कास्की प्रहरीकाअनुसार पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ पक्रेर हिरासतमा राखिएकाे छ ।

‘प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यले सोझासादा मान्छे भेला गएर भ्रम फैलाएका रहेछन्,’ कास्की प्रहरी प्रमुख दानबहादुर मल्लले बिएल नेपाली सेवासँग भने,‘यस्तो बिपतको बेलामा भ्रम फैलाएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको छ।’

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए। उनको प्रवचनको भिडियो भाइरलै भएको थियो। ‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन’, आचार्यले प्रवचनमा दाबी गरेका थिए, ‘प्रभु यशुको कृपा चीनमा रहेको छ।’

यसअघिदेखि नै उनले नेपालको कानुन विपरीत क्रिश्चियन धर्म फैलाउने काम गर्दै आएका थिए।‘ विपदको बेलामा सहयोग गर्नुको साटो अफवाह फैलाएर असहयोग गरे’, प्रहरी प्रमुख मल्लले भने, ‘उनीविरुद्ध अफवाह फैलाएको मुद्दा चलाउँछौं।’
 

प्रकाशित मिति: : 2020-03-25 01:28:09

प्रतिकृया दिनुहोस्