भरतपुरको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएका युवक मिर्गौलाको बिरामी रहेको अस्पतालले जनाएको छ। अस्पतालले मंगलबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएका वीरगञ्जका ३० वर्षीय सन्तोष यादव कोरोनाकै कारण मृत्यु नभएको जनाएको छ। उनी एक वर्षदेखि मिर्गौलाको बिरामी थिए।

अस्पतालका प्रमुख डा.भोजराज अधिकारीले एक विज्ञप्ती निकाल्दै यादवको कोरोना जाँचका लागि नमुन संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाइएको तर रिपोर्ट नआएका कारण उनको मृत्यु कोरोनाकै कारण भएको भन्न नमिल्ने बताए। उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका उनलाई रक्त अल्पताको आशंका पनि गरिएको छ।

मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी २ वर्षदेखि मिर्गौला रोगले ग्रसित थिए। उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो।

चितवन मेडिकल कलेजबाट यादवलाई केही दिनअघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि बिहान मात्रै आईसियुमा सारिएको थियो।

प्रकाशित मिति: : 2020-03-25 02:12:13

प्रतिकृया दिनुहोस्