प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।

 गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लडीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री मृर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गरेको जानकारी दिएको छ। यसअघि पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अवकाश पाएसँगै तीन एआईजी पद रिक्त थिए।

हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन्। उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।

क्षेत्री र पाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन्। क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७७ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। यदि ३० वर्षे सेवाअवधि हटे ठाकुरकै कार्यकाल लम्बिनेछ।

हाल क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् भने पाल आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-25 09:20:32

प्रतिकृया दिनुहोस्