अमेरिकाको नेपाली डायस्पोरामा कोरोना कहर : एकको मृत्यु, तीन संक्रमित

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा रहेको नेपाली डायस्पोराका एक सदस्यलाई कोरोना भाइरसले लगेको छ। उनी न्युयोर्कको न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका अनिल सम्बाहाम्फे लिम्बू हुन्। 

पाँचथर रानीगाउँ थातथलो भएका लिम्बूको मंगलबार विहान कुइन्सस्थित एल्हमस्र्ट अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

मिनी नेपाल भनिने न्युयोर्कको ज्याक्सन हाइट्समा व्यवसाय सञ्चालन गर्दै आएका ५० वर्षीय लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी न्युयोर्कस्थित नेपाली डायस्पोराका एक सक्रिय सदस्य थिए ।

मधुमेह र उच्च रक्तचापको औषधी सेवन गर्दै आएका लिम्बू एकसाता अघि ज्वरो आएर अस्पताल गएका थिए। परीक्षण गर्दा कोरोना भाइरस पोजिटिव देखिएको चिकित्सकले बताएका थिए । 

स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो ।

उनको निधनमा न्युयोर्कमा रहेको नेपाली डायस्पोराका अगुवाहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन् ।

यसैगरी न्युयोर्कको कुइन्सस्थित एल्हमस्र्ट अस्पतालमा अर्का एक ४७ वर्षीय नेपालीको पनि गम्भीर अवस्थामा उपचार भैरहेको छ। भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनको परिवारका सबै सदस्यमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएको छ ।

यसैगरी अर्का एक ५५ वर्षीय नेपालीमा पनि कोरोना भाइरस पोजिटिव देखिएको छ। कुइन्सकै ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरसँगै बस्दै आएका उनकी श्रीमतीमा पनि संक्रमणको आशंका गरिएको छ।

यसैगरी नेपालीहरूको बाक्लो बसोबास रहेको भर्जिनियाको फेयरफ्याक्सकी  ३८ बर्षिया नेपाली महिलामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनलाई चिकित्सकहरुले घरमै सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ।

प्रकाशित मिति: : 2020-03-25 10:20:16

प्रतिकृया दिनुहोस्