ट्रम्पले सुझाए काेराेनाको ‘अचुक औषधि’, खाँदा एकजनाको मृत्यु

अमेरिकाको एरिजोनामा कोरोना भाइरसविरुद्ध काम गर्ने भनिएको क्लोरोक्वीन औषधि खाँदा एक व्यक्तिको मृत्यु भएको छ। सो औषधि खाएकी उनकी श्रीमती गम्भीर अवस्थामा अस्पतालमा छिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको उपचारका लागि क्लोरोक्वीन उपयुक्त हुने भन्दै बारम्बार सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए र उनले सो औषधिका प्रयोगका लागि सुझाव दिएका थिए। क्लोरोक्वीनलाई माछा राखिने ट्यांक सफा गर्नका लागि पनि प्रयोग गरिन्छ।सोही औषधि खाएका एरिजोनाका व्यक्तिको निधन भएको हो।

क्लोरोक्वीन खाएको केही समयपछि नै ती दम्पती बिरामी भएको एरिजोनाको अस्पताल प्रणाली बानर हेल्थले बताएको छ।

औषधिका कारण गम्भीर बिरामी परेकी महिलाले अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँग आफूले टेलिभिजनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्रिफिङ्ग हेरेको र त्यसमा ट्रम्पले कोभिड–१९ को उपचारमा क्लोरोक्वीनको सम्भावित फाइदाहरुको कुरा गरेको सुनेको बताएकी छन्।

सो औषधि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले मलेरिया, लुपस र आर्ग्राइटिसको उपाधिका लागि स्वीकृत गरेको छ। तर कोरोना विरुद्ध यसले सकारात्मक काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन। 

औषधिका कारण बिरामी परेकी महिलाले भनेकी छन्, ‘हामीले उनको (ट्रम्प) को पत्रकार सम्मेलन हेरेका थियौँ। उनले बारम्बार यो औषधिले कोरोनाको उपचार गर्ने बताइरहेका थिए। हामी संक्रमित हुने भयमा थियौँ। त्यसैले खायौँ।’

उनका अनुसार कोई माछाका लागि ल्याएको क्लोरोक्वीन घरमा बाँकी थियो र सोही बाँकी रहेको क्लोरोक्वीन उनीहरुले खाएका हुन्।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ५९२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४६ हजार पाँच सय भन्दा बढी पुगेको छ।
 

प्रकाशित मिति: : 2020-03-25 20:56:46

प्रतिकृया दिनुहोस्