इटालीमा रहेका नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा सुरक्षित

‘त्यहाँ त धेरै खतरा छ रे। आइज भन्दा आइनस्। अब के हुने हो?’, सुनसरी इटहरीका दिवस सुवेदीलाई भिडियो कल गरेर आमाले सोधिरहन्छिन्।

दिवसले भिडियोमार्फत आफू र वरपर त्यस्तो केही खतरा नभएको देखाउँछन् र आमाले थोरै भए पनि राहत महसुस गर्छिन् तर ढुक्क भएर भने होइन।

इटालीस्थित रोम सहरको सेल्फ क्वारेन्टाइनमा आजभोलि दिवसको दैनिकी यसरी नै बितिरहेको छ। 
‘नेपालमा आमाले धेरै चिन्ता लिनु भएको छ तर हल्ला भएको जस्तो बिजोग अवस्थामा हामी छैनौँ। हामी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छौँ’, दिवसले सुनाए।

नेपाली सुरक्षित

८ वर्षअघि विद्यार्थी भिसामा इटाली पुगेका दिवस अहिले डिजाइनरका रुपमा कार्यरत छन्। उनलाई नेपालभन्दा इटाली धेरै सुरक्षित पनि लाग्छ। ‘यहाँको सरकारले आफ्नै नागरिक सरह व्यवहार गरेको छ। रासन पानी घरघरमै आइपुग्छ। कसैलाई समस्या परे तत्काल उद्धार हुन्छ’ , उनको अनुभव छ।

इटालीमा बढ्दो कोरोना संक्रमणका समाचारहरु वास्तविकतामाथि रहेरभन्दा पनि भ्रमात्मक बढी हुँदा आफन्तहरु बढी त्रसित बनेको उनको बुझाइ छ।

भक्तपुरका दिनेश श्रेष्ठको बुझाइ पनि उस्तै छ। १४ वर्षदेखि इटालीको रोमस्थित एउटा रेस्टुरेन्टमा वेटरका रुपमा कार्यरत रहेका उनलाई अहिलेको अवस्था बाहिर हल्ला भएजस्तो डरलाग्दो लाग्दैन। ‘हामी नेपालीहरु बाहिरी हल्ला भएजस्तो डरलाग्दो अवस्थामा छैनौँ। विश्वमै फैलँदै गएको कोरोना संक्रमणबाट बच्न हामी सजगता अपनाइरहेका छौँ’, उनी भन्छन्।

प्रकाशित मिति: : 2020-03-25 21:03:03

प्रतिकृया दिनुहोस्