भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितलाई उपचार तयारी

रासस

चितवन

भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ। अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ।
 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले भने, 'कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ। त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ।'
 
अस्पतालले हाल रहेका १९ शय्याको आइसोलेशन वार्डलाई ३० शय्याको बनाउने भएको छ। अस्पतालमा गठित नोेबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शय्याको आइसोलेशन थप गर्ने निर्णय गरेको हो। 

त्यस्तै कोभिड १९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शय्याको सघन उपचार कक्ष  सञ्चालन गर्ने निर्णय भएको छ। उपकरण थप गर्नका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग आग्रहसमेत गरेको छ। 
 
कोरोना संक्रमितहरुको लागि तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराइदिन  मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ। साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बीमा गरिदिन सरकारसंँग माग गरेको छ।

पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा राखेर सेवा दिइने अस्पतालले जनाएको छ। अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको बताइएको छ।

प्रकाशित मिति: : 2020-03-28 01:12:51

प्रतिकृया दिनुहोस्