डाक्टरलाई कोरोनाबाट जोगाउन ‘रेनकोट’ ! पर्याप्त सुरक्षा विनै उपचारमा खटिन्छन् डा. थापा

सुदर्शन थापालाई एकछिन पनि फुर्सद छैन । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. थापाको पेशा उहीँ तर जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ ।

बिहान ५ बजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थचक्क बस्ने अवस्था छैन । कारण हो – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुखको जिम्मेवारी ।

डा. थापाले प्रमुखको जिम्मेवारीलाई चुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् । 

उनलाई अहिले आफूसहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टीमलाई आत्मबल बढाएर काम गर्नुपर्ने जिम्मेवारी पनि छ । 

डा. थापा भन्छन्, ‘काम उहीँ हो तर जिम्मेवारी थपिएको छ । स्रोतसाधनको अभावबीच कोरोना संक्रमणको शंंका लागेर अस्पताल आएका बिरामीको उपचारमा खटिनुपरेको छ तर राम्रो पक्ष अहिलेसम्म यहाँ कुनै पनि बिरामीमा ‘पोजिटिभ’ रिपोर्ट देखिएको छैन । अत्यावश्यक उपकरण विना नै जोखिम मोलेर काम गरेका छौं ।’

थापालाई दैनिक १०० भन्दा बढी फोन आउँछन् । के भइरहेको छ ? कस्तो छ ? तयारीदेखि कोरोना संक्रमितको आशंका गरिएको बिरामीको रिपोर्ट के आयो ? नयाँ बिरामी आएका छन् कि छैनन् ? पत्रकार, मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी, मन्त्रीदेखि अस्पतालका चिकित्सकले फोन गरेर सोध्छन् ।

उनी लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चेकजाँच गर्छन् । त्यसपछि बुटवल–१० रामनगरमा रहेको कोरोना विशेष अस्पतालमा पुग्छन् । त्यहाँ प्रत्येक दिन आइसोलेनसनमा बढ्दै गएका बिरामीको चेकजाँचमा खटिन्छन् । त्यहाँ के–के आवश्यकता छन् ? आफ्नो नेतृत्वको टीमसँग छलफल गर्छन् । दिनभर त्यहीँ खटिन्छन् । उनलाई अहिले खाना खाने फर्सद समेत छैन । 
 

प्रकाशित मिति: : 2020-03-29 02:30:18

प्रतिकृया दिनुहोस्