कोभिड–१९ : नियन्त्रणका लागि टोल विकास संस्था परिचालन

रासस

दमौली

तनहुँको म्याग्दे गाउँपालिकाले कोभिड–१९ को नियन्त्रणका लागि टोल विकास संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ। 

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा आज बसेको स्थानीय समन्वय समितिको बैठकले प्रत्येक टोल विकास संस्थाका अध्यक्षलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि संयोजक तोक्ने निर्णय गरेको हो।

 बैठकले हरेक टोल विकास समितिमार्फत कोभिड–१९ को रोकथामका लागि परिचालन गर्ने र तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। 

टोल विकासमार्फत कोभिड–१९ का शङ्कास्पद व्यक्तिको तथ्याङ्क लिने, सङ्क्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।

प्रत्येक टोलमा गठित समितिको संयोजकले त्यस्ता व्यक्तिको विवरण वडाध्यक्ष वा स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन्। गाउँपालिकाभित्रका ७ वडामा ८२ वटा टोल विकास संस्था छन्। 

गाउँपालिकाले विभिन्न देशबाट फर्किएका २१ व्यक्तिको विवरण लिई उनीहरुको निगरानी गरिरहेको छ। गाउँपालिकाभित्र खाद्यान्नको आवश्यक ढुवानीको व्यवस्था उद्योग वाणिज्य सङ्घ थर्पु बजार एकाइले गर्नेछ। 

प्रकाशित मिति: : 2020-03-29 06:33:53

प्रतिकृया दिनुहोस्