निर्वाचन विशेष

निर्वाचन सुरक्षा: २ लाख ९८ हजार सुरक्षाकर्मी र ४ स्थानमा हेलिकप्टर तैनाथ (भिडियाेसहित)

विप्लव समूह मुख्य चुनाैती

कमल प्रभात

काठमाडौं

आइतबार हुने आम निर्वाचनको लागि गृह मन्त्रालयले सबै सुरक्षा व्यवस्था मिलाइसकेको छ। निर्वाचनको पूर्वसध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयले सबै सुरक्षा व्यवस्था मिलाइसकेकाे जानकारी दिएको हाे।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै तहकाे सुरक्षा परिचालन गरिएको गृह सचिव विनोद प्रकाश सिंहले जानकारी दिए।

उनकाअनुसार निर्वाचन विरोधी र निर्वाचन बहिष्कारवादीहरुको गतिविधि जातीय, क्षेत्रीय, साम्प्रदायिक संघ, संगठनहरुका गतिविधि, विगतको निर्वाचनमा घटेका घटनाहरुको मूल्याङ्कन तथा विश्लेषण खुला सीमाना, भौगोलिक विकटता लगायतको आधारमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएकाे छ।

निर्वाचन सुरक्षाको लागि देशभर कुल २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटाइएको मन्त्रालयले जनाएको छ। जसमा ७४ हजार ८ सय ४९ नेपाली सेना, ७१ हजार ६ सय ९३ नेपाल प्रहरी, ३५ हजार १ सय १७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान विभागका कर्माचारी र १ लाख १५ हजार म्यादी प्रहरी छन्।

मन्त्रालयले मतदानस्थलको संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरेको छ। सुरक्षाको हिसाबले सामान्य अवस्थामा रहेको मतदानस्थलमा ३ जना नेपाल प्रहरी तथा ५ जनाको दरले म्यादी प्रहरी खटाइनेछ। त्यस्तै संवेदनशील मानिएको मतदानस्थलमा ३ जना नेपाल प्रहरी तथा ६ जना म्यादी प्रहरी परिचालन गरिनेछ। भने, अनिसंवेदनशील सूचीमा राखिएका मतदानस्थलमा ३ जना नेपाल प्रहरी तथा ९ जना म्यादी प्रहरी परिचालन हुने मन्त्रालयका गृह सचिव सिंहले जानकारी दिए। उनकाअनुसार सोही हिसाबले अवस्था र आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु परिचालन गरिनेछ।

मन्त्रालयले निर्वाचनको समयमा साना हातहतियारको दुरुपयोग गरी सुरक्षामा चुनौती उत्पन्न गर्न सक्ने र जोखिम हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालयमार्फत इजाजतपत्र प्राप्त वैध १ हजार ८ सय ५४ थान र अवैध १ सय ७१ थान गरी कुल जम्मा २ हजार २५ थान हातहतियारहरु संकलन गरेकाे छ।

त्यसैगरी मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मको लागि अन्तर्राष्ट्रिय सीमानाकाहरु बन्द गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनको लागि सुरक्षा व्यवस्था अनुगमन तथा निर्वाचनसम्बन्धी अन्य कार्यको समन्वय तथा सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने अधिकार प्रत्यायोजन गरी प्रत्येक निर्वाचन क्षेत्र (प्रतिनिधि सभा सदस्य) राजपत्रांकित अधिकृतको नेतृत्वमा मिति २०७९ मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाएको छ। उक्त टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका अन्य विषय समेत अनुगमन गर्नेछ।

४ स्थानमा नेपाली सेनाकाे हेलिकप्टर तैनाथ

मन्त्रालयले मतदानको दिन हुने सक्ने घटना तथा आपतकालीन अवस्थामा प्रयाेगकाे लागि ४ स्थानमा नेपाली सेनाका हेलिकप्टरहरु तयारी अवस्थामा राखेको छ। सो हेलिकप्टरहरु निरन्तर गस्ती गर्ने छन्। र, अवश्यकताअनुसार निजी क्षेत्रका हेलिकप्टरलाई समेत परिचालन गरिने मन्त्रालयले जनाएको छ।

मुख्य चुनाैतीमा विप्लव समूह

सरकारले निर्वाचन सुरक्षाकाे मुख्य चुनाैतीका रुपमा चुनाव बहिष्कार गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायत राजनीतिक दलहरू रहेका छन्।

ती दलहरूले संसदीय व्यवस्था ठिक नभएकाे भन्दै निर्वाचन बहिष्कार गरेका छन्। उनीहरूले मतदातालाई मतदानमा सहभागी नहुन अनुराेध गर्नुका साथै देशका विभिन्न स्थानमा विस्फाेटक पदार्थहरू राखेर त्रसित बनाउँदै आएका छन्। निर्वाचन बहिष्कार गर्ने त्यस्ता तत्वहरूकाे नियन्त्रणकाे लागि विशेष याेजना बनाइएकाे मन्त्रालयले जनाएकाे छ।

‘निर्वाचन बिथाेल्ने त्यस्ता दल, समूह तथा व्यक्तिमाथि हामीले निगरानी बढाएका छाैँ। हामीले कुनै पनि हालतमा निर्वाचन बिथाेल्न दिँदैनाैँ, मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुराेध छ,’ गृह सचिव सिंहले भने।

त्यस्तै मन्त्रालयले बम विफाेस्टका घटनाहरू बढ्न थालेपछि ९ सय ३ वटा सेनाकाे बम डिस्पाेजल टाेली परिचालन गरिएकाे बताएकाे छ।

निर्वाचनमा कुल १० हजार ८ सय ९२ मतदानस्थल, २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन्। भने, १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन्।

सुरक्षाको समग्र अवस्था

सुरक्षाकाे लागि सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएकाे छ। सरकारले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक निर्देशन दिएकाे छ।

सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक प्रशिक्षण प्रदान गरी सबै निर्वाचन क्षेत्रहरुमा आवश्यक थप हातहतियार, सञ्चार सेट तथा बन्दोवस्तीका सामानसहित सुरक्षाकर्मीहरु खटिइएकाे छ।

सशस्त्र प्रहरी बल, नेपालबाट हातहतियार, सञ्चार सेट तथा बन्दोवस्तीका सामान मोबाइल टोली, स्ट्राइकिङ टोली खटाइएको तथा प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गरी पट्रोलिङ गस्ती भइरहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको व्यूआरटी रिर्जव टोलीलाई आवश्यक परेको बेलामा परिचालन गर्न सक्नेगरी तयारी हालतमा राखिएको छ। निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना संकलन, सम्प्रेषणका लागि राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति कार्यक्षेत्रमा खटिएको छ।

नेपाली सेनाबाट फ्लाइ मार्च, पट्रोलिङ नियमित भइरहेको तथा सुरक्षामा खटिएको टोलीलाई एरिया अपरेसन गराई उक्त क्षेत्रमा केन्द्रित गराइएकाे छ।

भिडियाे :

प्रकाशित मिति: : 2022-11-18 18:10:00

प्रतिकृया दिनुहोस्