धरानमा  कोभिड–१९ को नमूना परीक्षण शुरु

रासस

काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिए। 

यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो। उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ।
 
उनले आजदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक  कल सेन्टर विस्तार गरिएको जानकारी दिए। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।

उनले शुक्रबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड–१९ सङ्क्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए। 

'हिजो(शुक्रबार) सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो उनको डिस्चार्ज भएको छैन' उनले भने, ‘'उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको छ।'

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आज थप एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिए। यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै आएकी वाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको छ। 

ती युवतीसँंगै नेपाली पाँच जनामा सङ्क्रमण देखिएको छ। ती युवतीको वाग्लुङमा नै उपचार हुने उनले जानकारी दिए। 

दिनदिनै सङ्क्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उनले बताए। उनले सङ्क्रमण धेरै फैलिन नदिनका लागि सर्वसाधारणलाई घरभित्र बस्न अनुरोधसमेत गरे।

यसैगरी अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण देखिएको छ। उनले शुक्रबार धनगढीस्थित प्रादेशिक अस्पतालमा सङ्क्रमण देखिएका एक युवकको अवस्था अहिले सामान्य रहेकाले तिनलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र तालीम दिइएको जानकारी दिए। उनका अनुसार अहिले टेकु अस्पतालमा चार जना आइसोलेशन र छ जना क्वारेन्टाइनमा  छन्।

प्रकाशित मिति: : 2020-03-29 10:26:20

प्रतिकृया दिनुहोस्