‘भुन्या मान्नु, गर्‍या खानु’

देश लकडाउन छ। तपाईं के गर्दै हुनुहुन्छ? केही नगरी त बस्न सकिदैन होला। म पनि सकेको छैन। दिनभरी स्वतन्त्र हिँडडुल गरेको, दुनिया भरका गफ छाँटेको। चिया पसलबाटै देश हाक्ने गफ दिनुपर्ने मलाई घरको कोठा त जेल लागिरहेको छ। चार दिवारको कोठा ग्रेट वालले घेरे जस्तो छ। औसत मान्छेलाई उस्तै त होला नि। म कहिलेकाहीँ आफूलाई आसन नभएको जस्तो मान्छु। अनि अरुलाई पनि उस्तै देख्छु। सायद, संसार मेरो चस्माले हेरिरहेछु। अनि मैजस्तो पो देखिरहेछु। तर तपाईंलाई त्यस्तो नहुन सक्छ। जस्तो आफू, उस्तै टापु त केवल नजरिया न हो। 

त्रास कोरोनाको छ। वीर गोर्खाली पारा देखाएर हुनेवाला केही छैन। देख्नु भएन, कुनै बेला सूर्य नअस्ताउने परिचय बोकेको देशका प्रधानमन्त्री र राजकुमारलाई समेत स्याँपचक्कै परिदिएको। त्यसैले विश्व स्वास्थ्य संगठनले व्यक्तिगत दूरी बढाउन आग्रह गरिरहेको छ। यस्तो बेला सामान्य कमजोरीले पनि कोरोनाको फैलावट बुलेट ट्रेनको गतिमा बढ्ने संकेत देखिरहेका छौं। दिनहुँजसो मान्छे मरेका समाचारले विश्व आतंकित छ। 

समाजिक संजालमा जोडिएको जो कोहीले यी सब दृश्य घरबाटै देखिरहेको छ। इटली र स्पेनको दृश्यले त झन् निद हराम गरिरहेका छन्। हेर्दै आँङ सिरिङ्ग हुने। नाडीका रौं ठाडा हुने। अनि आफै भन्नुस् त यस्तो बेला वीर गोर्खालीको पारा ठिक कि बिरालो ढोकापाले भएको बेलाको मुसो भई दुलाभित्र पसेको ठिक ? कोरोनाका अगाडि मेरो चस्माले मुसै हुन ठिक देखिरहेको छ। 

मुुसो भएर बसेका तपाईं हामीलाई कोरोनाको संक्रमण हुने चान्स निकै कम छ तर सूचना संक्रमण बढीरहेको छ। ‘बाघ लागेको वर्ष स्याउलाको पनि डर’ भन्ने उखान जस्तै मौसम परिवर्तन हुँदा देखिने सामान्य रुगाखोकी र ज्वरो पनि कोरोनाको लक्षण मान्नु परेको छ। मेरो वरिपरि कतै कोरोना पो आयो कि भनेर मान्छेका होस् हावास उडेका छन्। यी समाचार अखबारमा आउदा त्रास आकाश छुने गरि बढेको छ। हुनत कोरोनासँग मिल्दाजुल्दा लक्षणबाट सजक भएकै बेस। पछि कोरोना नै पुष्टि भयो भने समस्या झन् बड्ला।

संक्रमण फैलिएपछि स्थिति भयभह होला। चान्स घटाउने उपाय नै सही। सरकार जे भन्छ त्यही मानौं। सरकारले तोकेका मापदण्द पुरा गर्नु नै जोखिम कम गर्नु हो। हाम्रो जुम्लातिर बुढापाकाले भन्ने गरेको एउटा उखान छ, ‘भुन्या मान्नु, गर्‍या खानु’।

मजस्तै आसन नभएका मानिसहरु प्रसस्त रहेछन् भन्ने कुरा देश लकडाउन भएपछि थाहा भयो। जसको प्रवाह नगरीकन भटाभट मान्छे सडकमा निस्किए। अनि मेरो चस्मा सहि हो जस्तो लाग्यो। यस्ता अटेरी जो भाइरस जस्तै खतरनाक हुन्छन्। यस्ता मान्छेलाई कोरोना भाइरसले खुब गुन मानेको होला। यस्तै मान्छेले गर्दा हामी फैलन पाएरहेका छाैँ सोच्दो हो। अनि सडकमा निस्कने मान्छे कोरोनाको ‘थ्यांक्यु’ खाँदा हुन। भाइरस तीनलाई खाएर चिलिम बनाइदिन्छ। तिनीसँगको सम्पर्कले हामी चिलिम। प्रहरी, प्रशासन रुखो भएको छ। हुनुपर्ने बेला पनि हो। पछि तिनै हातले लास उठाउनु भन्दा अहिले लाठी उठाएकै राम्रो।

सायद, यो मेरो गन्थन बन्यो कि? भुलेछु तपाईलाई सोधिएको प्रश्नको उत्तर खोज्न। अनुमान लाइकन हुने केही होइन। त्यसैले तपाईं के गर्दै हुनुहुन्छ भनेर प्रश्न गरेको हुँ। अनुमानको जवाफ दिएर म किन हुनुमान बनौं। सञ्जिवनी बुढी ल्याउन गएका हनुमान बुटी कुन हो ठम्याउन सक्दैनन्। पहाडै उठाएर ल्याउँछन्। त्यस्तो नहोस् भनेर मैले तपाईंहरुसँग भोटवार्ता गरेको छु। अहो! ‘दुनियालाई बाहिर ननिस्कि भन्ने आफू, भेटर्वार्ता गर्छ मुला’ भन्नुहोला। मैले अनलाईनमा भेटवार्ता गरेको छु। आइडिया त ठिक छ नि?

आजको यो मेरो भेट पुस्तक पढ्नेसँग छ। 

साह्रै बोर लाग्यो भने पढ्नु जाति। पुस्तक मान्छेको हरपलको साथि हो। हामीलाई नौ दश कक्षामा समाजिक पढाउने शिक्षकले दोस्रो विश्व युद्धताका स्टालिनको छोरो मारिदा समेत पढिरेको कथा सुनाएर पुस्तक पढ्नलाई हौस्याउँथे। कार्ल मार्क्स आफ्नी छोरीको लागि कात्रो किन्ने पैसाको जोहो गर्न गएको बेला एकछिन यस्सो किताब पढौं भनेर पुस्ताकालयमा छिरेथे। उनी त रातभर पढ्न बसेछन्। यस्ता थुप्रै किस्सा छन् किताबसँग जोडिएका। कालिदासको ‘क’ नबुझिएको भए सायद महाकवि कालिदास बन्दैन्थे।

अब आफै भन्नुस् त किताब हाम्रो कस्तो खालको साथि रहेछ। मलाई त मज्जा आयो। ऋचा शर्माको मज्जा होइन। किताबको मज्जा। मैले लकडाउन अवधिमा आसन भएको देखाउन पनि एकदुई किताब पढेर मज्जा लिए। अब तपाईंका कुरा।

कर्णाली प्रदेशमा ‘सिरियस रिडर’ भनेर चिनिने सुर्खेतको साझा बिसौनीका सम्पादक विनोद शाही, गजेन्द्र बुढाथोकीको पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’ पढिरहेका छन्। हरेक विषयवस्तु र घटनालाई मिठो गरि पस्कने उनी अध्ययनको सार एक अनुच्छेदमा खिच्छन्, ‘नेपाली अर्थतन्त्रको वर्तमान अवस्था सरल भाषामा बुझाउने पुस्तक हो, यो। जसमा अर्थतन्त्रीय आयामका विविध पक्ष समेटिएका छन्। अर्थतन्त्रका संरचनागत समस्या, आत्मनिर्भर अर्थतन्त्रका आधार, गरिबीको अवस्थादेखि कृषि, उर्जा र पर्यटनको सम्भावनाको चर्चा गरिएको छ। यो पुस्तक मलाई किन पनि सजिलो लाग्यो भने यसमा अर्थशास्त्रका सैद्धान्तिक पक्षभन्दा बढी व्यवहारिक पक्षहरु समेटिएको छ। म अर्थशास्त्रको विद्यार्थी होइन। तर नेपाली अर्थतन्त्रलाई छोटकरीमै भएपनि बुझ्ने कोसिस गरिरहँदा मेरा लागि पत्रकार गजेन्द्र बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ एक आँखिझ्याल बनेको छ। जसबाट अर्थतन्त्रको वर्तमान पेरीफेरी बुझ्न सकियोस्।’

उनले खिचेको यो सार मलाई रसिलो लाग्यो। चैतको धुपको बेला उखुको रस जस्तै। पुस्तक पढ्नेका रसिला कुरा सुन्दा पनि घरबाट बाहिर नजाउँ, सरकारले भनेको मानौं लाग्छ। चिया चौतारीबाट देश हाक्नुभन्दा किताब पढेर ज्ञानको दायरा फराकिलो बनाउनु सहि छ। हामीसँग अरु उपाय नै के छ र, भनेको मान्नु बाहेक। 

विभेदविरुद्ध कलम चलाइरहेका जुम्ला सिंजा सिम्पाटीका अर्का एक लेखक मिमबहादुर परियारसँग पनि भलाकुसारी गरे। यतिबेला उनी डाक्टर विश्वन्धु शर्मा द्वारा लिखित पुस्तक ‘मान्छेको मन’ पढिरहेका छन्। संकटबाट पार पाउन यस्ता पुस्तक उपयुक्त हुन्छन्। 

उनले ‘लकडाउन’ लाई अवसर ठानेका छन्। यतिबेला बाहिर जानू कोरोनालाई निमन्त्रणा कार्ड दिनु जस्तै लागिरहेको छ। यसकारण आफूले पढेको पुस्तक र लेखकलाई यसरी चिनाउँछन्, ‘लेखक पेशाले मनोचिकित्सक हुन्। यस पुस्तक मार्फत उनले आफ्नो व्यक्तिगत भोगाई, अनुभव लेखेका छन्। अझ आम पाठकले मानसिक रोग के हो? समस्या कस्ताकस्ता हुन्छन्। मानसिक रोगबारे आम मानिसको बुझाइ के कस्ता हुन्छन्, यी सबै उल्लेख गरेका छन्। त्यस्ता बिरामीको घरपरिवारले कसरी स्याहारसुसार गर्नुपर्छ भन्ने पनि उल्लेख गरेका छन्। समग्रमा पुस्तक अनुभवमा आधारित छ। पढ्दा मन छुन्छ।’

मिमबहादुरको निष्कर्षले भन्छ, ‘अरुबेला बिहेको निम्तो बाँडेको सुहाँउछ। यस्तो बेला कोरोनलाई कार्ड बाँड्दा होइन।’

शब्दमा चुम्बकीय गुण भएका अर्का मान्छे हुन, मुगुका हिरा बिजुली नेपाली। जो पेशाले रंगकर्मी हुन। उनलाई संकटको बेला सरकारको आदेश ठिक लागिरेहेको छ। ‘यतिबेला लखरलखर बोटो दोबाटोमा हिड्नु माहामारी निम्त्याउनु हो। अँध्यारोमा ढुंगा किन हान्नु? लकडाउन रचनात्मक गतिविधि गर्ने अवसर हो,’ उनले भने, ‘मैले एउटा नाटक र एउटा फिल्म लेखे। अरुबेला समय निकाल्न गाह्रो छ। सजिलो बनाउन आएको लकडाउनको बेला आशा जगाउनु पर्छ।’

आशा जगाउनकै लागि उनले बिएल नेपाली सेवामा एउटा लेख पनि लेखे। हाल उनी कर्णाली बुझ्न सत्यमोहन जोशीको ‘कर्णालीको लोक संस्कृति’को पाँचै खण्ड सकाउने धुनमा छन्।  

कृपया निराशा होेइन आशा जगाऔं। यो विपत्ति मानव जातिले भोगेको न पहिलो हो, न अन्तिम नै। विज्ञान प्रविधिप्रति हाम्रो भरोसा हुँदाहुँदै हामी आत्तिन थाल्यौं भने संसार के होला? सोच्नुहोस्, जतिबेला विज्ञान हाम्रो प्रिय साथि थिएन, त्यतिबेला यस्ता विपत्तिले आधा जनसंख्या गुमेका इतिहास छन्। अहिले हाम्रो भरोसाको केन्द्र विज्ञान छ।  

हाम्रो सरकारले पनि चिकित्सकसँग सल्लाह गरेरै गर्ने हरेक निर्णय नागरिकको हितका लागि छन् भनि सोच्नु बाहेक विकल्प छैन। अहिले देवी देउता, भगवान, अल्लाह, यशुले केही गर्न सक्दैनन्। हुन त देउताका धामीले मेरा पाली जसरी पनि बचाउँछु भनिरहेका छन् भने प्रभु यशुका लगायत अन्य धर्मका अनुयायीले त्यो भन्दा बढी उत्पात मच्चाएका छन्। तर हास्यास्पद कुरा यो छ कि, संकटको घडिमा ती सबै धर्मका दरबाजा बन्द भएका छन्। तसर्थ संकटको बेला सबै कुरासँग लड्ने साहस छ त केवल मान्छेसँग मात्र। यसकाे पुष्टि फेरी एकपटक भएको छ। धार्मिक आस्था त तर्कको अभावमा केवल मन सन्तोक बनाउने साधन मात्र हुन। भरोसा अदृश्य शक्तिमाथि होइन, चिकित्सा विज्ञान माथि गरौं। भलाई यसैमा छ। 

अनुकुल समयको बेला जे गरे पनि यो प्रतिकुल सयमा हामीले गर्न हुने केही सीमित कुराहरु छन्। जसको माध्यबाट दैनिकी चलाएर माहामारी माथि विजय हासिल गर्नु छ। इतिहासकाे पानामा सुनौला अक्षर लेख्नु छ। सावधानी अपनाउँदा मानवले जस्तोसुकै कठिन समयमा पनि नधर्मराइ प्रतिकुलतालाई आफ्नो कावुमा लिन सक्छ। अरुबेला जे गरेपनि धारे लाउँला, धिम मरुन्जेल गाली गरुला। अहिले हात बाँधौ। मुख सिलाउँ। सरकारले भनेको मानौं। कम्तिमा यत्ति त गर्न सकौंला नी!

 

प्रकाशित मिति: : 2020-03-30 02:24:00

प्रतिकृया दिनुहोस्