लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राखिने

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय  प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गर्नेमाथि कडा रुपमा प्रस्तुत हुने बताएका छन्। 

प्रहरीले आइतबार एकाबिहानै ५५ महिला र १५५ जना पुरुष  पक्राउ परेपछि उक्त कुरा बताएका हुन्। पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के होरु कसको लागि भन्ने बुझिसक्नु भएको छ। एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन।’

डिआईजी पोखरेलले अब लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए। उनले लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने बताए।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान उनले गरेका छन्। लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीको विशेष टोलि परिचालन भएको छ।


प्रहरीले हिजो दिनभर  लकडाउन उल्लघंन गर्ने काठमाडौंबाट ४ सय ५२ र ललितपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2020-03-29 20:58:28

प्रतिकृया दिनुहोस्