लकडाउन चैत्र महिनाभरि लम्ब्याउने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा दुई साता लम्ब्याउने तयारी गरेको छ।

कोरोनाको संक्रमण फैलिन नदिन जनतालाई घरभित्रै राख्नुपर्ने भएकाले लकडाउन चैत महिनाभरि लम्ब्याउन लागिएको एक मन्त्रीले बताए।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो।

यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ। तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने बिएल नेपाली सेवालाई स्रोतले जनाएको छ। ‘केही मन्त्रीज्यूहरुसँग एक दिन रोकेर फेरि केही समय लम्ब्याउने कि भन्ने सल्लाह भएको थियो। तर, सम्भावित जोखिमको अवस्थालाई हेरेर बेक्र नगरिकनै थप समय लकडाउन गर्ने निर्णय गरेका छौँ। अब अन्तिम निर्णय प्रधानमन्त्रीज्यूले सुनाउनुहुन्छ,’ स्रोतले भन्यो।

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ। यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ। 

केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2020-03-29 23:49:14

प्रतिकृया दिनुहोस्