बाँकेमा २३ काे कोरोना परीक्षण, १३ जनाकाे रिजल्ट ‘नेगेटिभ’

बाँकेमा अहिलेसम्म २३ जनाकाे कोरोना भाइरस परीक्षण गरिएकोमा १३ को नतिजा ‘नेगेटिभ’ देखिएको छ।  कोरोना भए नभएको बारेमा गरिएको ‘स्याम्पल कलेक्सन र ल्वाब टेस्टिङ’को तथ्यांक अनुसार संकलन गरिएका जम्मा २३ जना मध्ये १३ जनाको रिजल्ट ‘नेगेटिभ’ देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना भाइरस फोकल पर्सन नरेश श्रेष्ठकाअनुसार फागुन १२ गते २ जना, चैत्र २ गते ३ जना, ८ गते २ जना र  १३ गते नमूना संकलन गरिएको थियो। उनले फागुन १२ देखि चैत्र १३ गते सम्मको रिजल्ट अनुसार सबैजनामा ‘नेगेटिभ’अर्थात कोरोना भाइरसको संक्रमण नभएको देखिएको बताए। 

‘शनिबार थप १० जनाको स्याम्पल संकलन गरि परिक्षणको लागि काठमाडौं पठाइएको छ,’ उनले भने,  ‘स्याम्पल संकलन गरेर पठाइएका भारत तथा तेस्रो मुलुकबाट जिल्लामा भित्रिएकाहरु छन्। उनीहरुको परिक्षण रिर्पोट   चैत्र १८ गते आउने छ।’

प्रहरी पनि क्वारेन्टाइनमा 
बाँकेको नेपाल–भारत सीमानाका जमुनाहमा खटिएका एक प्रहरीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो। 

बाँके प्रहरीकाअनुसार अहिले ती प्रहरी धम्बोझी स्थित सामर्थ ईन होटलमा बनाइएको अस्थायी क्वारेन्टाइनमा छन्। उनको परिचय खुलाइएको छैन।

नेपाल–भारत सीमा जमुनाहामा कार्यरत उनी डिउटीका बेला नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको निगरानी, चेकजाँचमा सक्रिय थिए। सोही क्रममा उनमा अस्वभाविक रुपमा ज्वरो आएपछि कोरोना भाइरसको आशंका गरि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-03-30 06:39:52

प्रतिकृया दिनुहोस्