कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

 पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भैरहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै  प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौं,’ उनको सन्देशमा भनिएको छ,‘दु:ख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।’

उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताएका छन्।

‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ उनको सन्देशमा भनिएको छ,‘ यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’

पूर्वराजा शाहले  महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत  सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।


 

प्रकाशित मिति: : 2020-03-31 19:20:00

प्रतिकृया दिनुहोस्