प्रदेश २: निजी अस्पतालले उपचार नगरे कारबाही गर्न सरकारको निर्देशन

 प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ।

सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ।

त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्नेरगराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ।

माथिल्लो निकायको कार्यक्षेत्ररबिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ।

निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ। निजी अस्पतालले आधारभूत स्वास्थ्य सेवा समयमा उपलब्ध नगराउँदा काठमाडौं लग्ने क्रममा बिरामीको बाटोमै मृत्यु भएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारले यस्तो अवस्थामा राज्य केवल मूकदर्शक बस्न नसक्ने जनाएको छ।
 

प्रकाशित मिति: : 2020-04-01 12:52:33

प्रतिकृया दिनुहोस्